aarthiknews.com मंगलबार, १० असार २०८२   Tuesday, 24 June, 2025
 

हुलाकी राजमार्गको आधाभन्दा बढी काम सम्पन्न

  • आजको गोरखापत्र दैनिकबाट
    आजको गोरखापत्र दैनिकबाट
  • आइतबार, २९ चैत्र २०७७
हुलाकी राजमार्गको आधाभन्दा बढी काम सम्पन्न

काठमाडौं । सडक विकासमार्फत कृषि, व्यापार, उद्योग र पर्यटनको विकास गरी तराई–मधेसका जनताको जीवनस्तर उकास्ने उद्देश्यसहित निर्माण भइरहेको हुलाकी राजमार्गको आधाभन्दा बढी काम सकिएको छ । निर्धारित समयभन्दा ढिला भए पनि अब हुलाकी सडकले बिस्तारै गति लिन थालेको छ ।

बहुप्रतीक्षित तथा राष्ट्रिय गौरवका आयोजनामा सूचीकृत यस राजमार्गको अहिलेसम्मको भौतिक प्रगति ६० प्रतिशत र वित्तीय प्रगति ६१ प्रतिशत रहेको हुलाकी राजमार्ग आयोजनाले जनाएको छ । यस आयोजनाअन्तर्गत अहिलेसम्म ६५० किलोमिटर सडक कालोपत्रे भइसकेको हुलाकी सडक आयोजना प्रमुख रोहितकुमार बिसुरालले जानकारी दिए। उनका अनुसार अहिले छ सय किलोमिटरमा निर्माण कार्य भइरहेको छ ।

चालू आर्थिक वर्षमा दुई सय किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य रहेकोमा अहिलेसम्म १२७ किलोमिटरको काम सम्पन्न भइसकेको र बाँकीमा खण्डास्मित ९ग्राभेल०को काम भइरहेको उनले बताए । चालू आर्थिक वर्षमा यस राजमार्गका लागि छ अर्ब ९३ करोड रुपियाँ विनियोजन गरिएकोमा यस वर्षको फागुनसम्म चार अर्ब रुपियाँ खर्च भइसकेको आयोजनाले जनाएको छ ।

तराईका २० वटै जिल्लामा निर्माण भइरहेको हुलाकी राजमार्गले त्यस क्षेत्रका ७५ प्रतिशत गाउँबस्तीलाई सडक सञ्जालसँग जोडी मुलुककै झन्डै आधा जनसङ्ख्यालाई प्रत्यक्ष लाभ पु¥याउने छ ।

यस राजमार्गअन्तर्गत जम्मा २४० वटा पुल निर्माण गर्नुपर्नेमा अहिलेसम्म ९५ वटा पुल निर्माण सम्पन्न भई सञ्चालनमा आइसकेको आयोजना प्रमुख बिसुरालले जानकारी दिए । त्यसैगरी अहिले ७५ वटा पुल निर्माणाधीन अवस्थामा छन् । चालू आर्थिक वर्षमा जम्मा २० वटा पुल निर्माण सम्पन्न गर्ने लक्ष्य रहेकोमा अहिलेसम्म पाँचवटाको काम सम्पन्न भइसकेको उनले जानकारी दिए ।

यो राजमार्ग निर्माणलाई तीव्रता दिन योजना कार्यालयमार्फत सडक र पुल गरी अहिले कुल १६० वटा र भारतीय परामर्शदाताबाट सात गरी अहिले कुल १६७ वटा ठेक्का चालू अवस्थामा रहेका छन् । भारतीय परामर्शदाता मातहत १४ वटा ठेक्का सञ्चालनमा रहेकामा सातवटाको निर्माण सम्पन्न भइसकेको छ ।

हुलाकी राजमार्गका १४ वटा प्याकेजमध्ये १३ प्याकेजको सडक निर्माण सम्पन्न भएको छ । पूर्व–पश्चिम राजमार्गदेखि भारतको सिमाना जोड्ने ती सडकको कुल लम्बाइ ३०५ किलोमिटर छ । यी सडक भारत सरकारको आठ अर्ब रुपियाँ अनुदान सहयोगमा निर्माण भएका हुन् ।

प्रतिक्रिया दिनुहोस