
काठमाडौं । व्यवसायी नारायण घिमिरेले चीनसँग जोडिएको तातोपानी र रसुवागढी नाका छाडेर भारतको कोलकाता बन्दरगाहबाट सामान आयात गर्न थालेको पाँच वर्ष बितेको छ ।
तातोपानी नाकाबाट दुई दशक आयात व्यापार गरेका उनी उत्तरतर्फ मात्र भरपर्दा व्यवसायीले निकै ठूलो नोक्सानी व्यहोर्नुपरेको सुनाउँछन् । उत्तरी नाकाबाट आयात व्यापार सहज हुन्छ भन्ने उनको विश्वास नै टुटेको छ ।
डेढ दशकदेखि तातोपानीबाट व्यवसाय गर्दै आएका नृप अधिकारीले पनि आयात व्यापारलाई दक्षिणी नाकामा केन्द्रित गरेका छन् । उनले आगामी जाडोयामका लागि चीनबाट झिकाउने सामानसमेत भारत हुँदै ल्याउने निर्णय गरेका छन् । चीनसँग जोडिएका नाकामा निर्भर हुँदा गत वर्ष लाखौं रुपैयाँ नोक्सानी व्यहोरेको उनले सुनाए ।
भूकम्प, बाढीपहिरो र कोभिडको बहानामा चीनले नेपाल जोडिएको नाकाबाट हुने आयात–निर्यात व्यापारमा कडाइ गरेपछि दक्षिणतर्फ भर पर्न बाध्य भएका घिमिरे र अधिकारी प्रतिनिधि व्यवसायी हुन् । व्यवसायीहरू चीनबाट हुने झन्डै ८० प्रतिशत व्यापार दक्षिणी बन्दगाहतर्फ ‘डाइभर्ट’ भएको अनुमान गर्छन् । नेपाल हिमालय सीमापार वाणिज्य संघका निवर्तमान अध्यक्ष बच्चु पौडेलका अनुसार उत्तरी नाका प्रयोग गर्नेरनगर्ने सम्बन्धमा धेरै व्यापारी अन्योलमा छन् ।
उनले १० देखि १५ प्रतिशत व्यापारीले मात्र तातोपानी र रसुवाबाट सामान आयात गरिरहेको बताए । सामान्य अवस्थामा चीनबाट हुने व्यापारको ३५ प्रतिशत हिस्सा दक्षिणी नाकाबाट हुने गरेको अनुमान गरिँदै आएको थियो । भन्सार विभागका सूचना अधिकारी शिशिर घिमिरेले आयातको बाटो डाइभर्ट भए पनि त्यसको हिस्सा यकिन नभएको बताए । उनले उत्तरी नाकाबाट हुने व्यापार सहज बनाउने एजेन्डामा आफूहरू केन्द्रित भएको दाबी गरे ।
प्रतिक्रिया दिनुहोस