aarthiknews.com मंगलबार, १० असार २०८२   Tuesday, 24 June, 2025
 

मेलम्ची पानीः तीन सय ठाउँमा पानी लिकेज, सडकमा बनेका खाल्डा टाल्न एक करोड लाग्ने

  • आजको कान्तिपुर दैनिकबाट
    आजको कान्तिपुर दैनिकबाट
  • आइतबार, २९ चैत्र २०७७
मेलम्ची पानीः तीन सय ठाउँमा पानी लिकेज, सडकमा बनेका खाल्डा टाल्न एक करोड लाग्ने

काठमाडौं । मेलम्ची पानीको लिकेजले गर्दा उपत्यकाका सडकमा बनेका खाल्डा टाल्न एक करोड रुपैयाँभन्दा बढी खर्च लाग्ने भएको छ । पुरानै प्रणालीबाट मेलम्चीको पानी वितरण गरिएकाले लिकेज हुने क्रम बढेको छ ।

यसले नयाँ कालोपत्रे सडक बिग्रने र खाल्डा पर्ने समस्या देखिएको डिभिजन सडक कार्यालय काठमाडौंले जनाएको छ । भर्खरै कालोपत्र गरेका सडकमा समेत पानीले गर्दा खाल्डा भएका छन् । काठमाडौं उपत्यका खानेपानी लिमिटेड ९केयूकेएल० ले मेलम्चीको पानी वितरणको काम गर्दै आएको छ ।

‘खानेपानी वितरणमा तयारी नपुगेको देखिन्छ,’ डिभिजन सडक कार्यालय काठमाडौंका प्रमुख कुबेर नेपालीले भने, ‘लामो प्रतीक्षापछि आएको मेलम्चीको पानी रोक्ने कुरा भएन । तर पानी लिकेजकै कारण सडकमा खाल्डा थपिनु राम्रो होइन ।’ पाइप फुट्दा बनाउने र सडक मर्मत गर्ने काम सम्बन्धित निकायबाटै हुनुपर्ने उनको भनाइ छ ।

‘सडक बनाउँदा पाइप फुट्यो र बिजुलीका पोल ढले भने हामी बनाउँछौं, त्यो प्रोजेक्टअन्तर्गतकै काम हो,’ उनले भने, ‘तर तयारी नपुर्‍याई पानी वितरण गर्दा समस्या देखापरेको हो, जताततै पानी बगाएर खाल्डा परेर जात्रा हुन दिनुभएन, त्यसका लागि हामीले खाल्डा टाल्नुपर्छ ।’ केयूकेएलका प्रतिनिधिलाई यसबारे छलफल गर्न बोलाइएको उनले बताए । ‘समन्वय गरेरै काम गरौं भन्ने हाम्रो उद्देश्य हो,’ उनले भने ।

थुप्रै ठाउँमा पाइप फुटेकाले कहाँबाट स्रोत जुटाउने भन्ने चुनौती थपिएको उनको भनाइ छ । ‘कति ठाउँमा लिकेज छ, त्यसका आधारमा टाल्न कति खर्च लाग्छ, त्यसको तयारीको काम हुँदै छ,’ उनले भने, ‘तर अहिलेसम्म पानी लिकेजबाट बनेका खाल्डा टाल्न मात्र एक करोड रुपैयाँभन्दा बढी लाग्ने अनुमान छ ।’ 

चालु आर्थिक वर्षमा सडक मर्मतमा मात्र ५० करोड रुपैयाँभन्दा बढी खर्च लाग्ने उनको भनाइ छ । यो रकम ओभर–ले (कालोपत्रमाथि कालोपत्र), नयाँ सडक बनाउने, पानी लिकेज भएका ठाउँ टाल्नेलगायत काममा खर्च हुनेछ । कालोपत्र भइसकेका भित्री सडक पनि खनेर धमाधम पाइप बिछ्याउने र ढल राख्ने काम भइरहेको छ । विद्युत् प्राधिकरणले सडक अस्तव्यस्त पार्दै तार भूमिगत पार्ने काम अघि बढाएको छ । जसले गर्दा सडक र प्राधिकरणबीच समन्वय अभाव देखिन्छ ।

प्रतिक्रिया दिनुहोस