aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

किन किसान गएनन् कालिमाटीको स्टलबाट सिधै तरकारी बेच्न ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २९ चैत्र २०७७
किन किसान गएनन् कालिमाटीको स्टलबाट सिधै तरकारी बेच्न ?
फाइल फोटो

काठमाडौं । तरकारीमा बिचौलियाको बिगबिगीको कथा नयाँ होइन । यो बिषय ठुलो चुनौतिको रुपमा चर्चामा आएपछी सरकारले (कालिमाटी तरकारी बजार व्यवस्थापनले) एउटा निर्णय गर्यो । त्यो हो, किसानका लागि छुट्टै स्टल छुट्याएर बिचौलियाको भूमिका कम गर्ने, उपभोक्ता र किसानलाई उचित मूल्य र दाम लिन/दिन सक्ने वातावरण निर्माण गर्ने । 

तर, यसरी बिचौलियाहरू हटाउन र किसानको गुनासो सुन्नका लागि सरकारले कालीमाटी तरकारी बजारमा चैत १८ देखि किसानका लागि छुट्टै स्टल छुट्याएको स्टल नै अहिले बेवारीसे बनेका छन् । किसानका लागि १२ वटा स्टल छुट्याएको भए पनि अहिले दैनिक दुई चार जना किसान मात्रै आउने गरेका छन् । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका उपनिर्देशक बिनय श्रेष्ठले अहिले दैनिक दुई चार जना किसान आएर तरकारी बिक्री गर्ने गरेको बताए । 

सामान्यतया किसानहरूले सानो मात्रामा उत्पादन गरेको तरकारी व्यवसायीमार्फत नै बजारसम्म पुर्याउँछन् । यसोहुँदा यसको फाइदा बिचौलियाले उठाइरहेका हुन्छन् । बिचौलियाकै कारण तरकारी उत्पादक किसानले लागत मूल्य पाउन सकेका छैनन् । जसको समाधान स्वरूप अपनाइएको नीति नै कामकाजी बन्न सकेको छैन। सोचे जस्तो लाभ लिन किसानहरुमा नै इच्छा देखिएन ।  

तर, श्रेष्ठ यस्तो अवस्था संधै नरहनेमा बिश्वस्त छन् ।  अहिले किसानहरु कम संख्यामा आउनुको कारणबारे उनि भन्छन्, ‘बिचौलियाहरू हटाउन र किसानको गुनासो सुन्नका लागि किसानहरुलाई १२ वटा छुट्टै स्टल छुट्याइएको छ । अहिले दैनिक चार जनासम्म किसानहरु आएर तरकारी बिक्री गरिरहेका छन् ।’ श्रेष्ठले थपे, ‘किसानको स्टलमा दैनिक दुइ चार जना मात्रै हुनुको मुख्य कारण उत्पादन पनि हो । अहिले तरकारी तथा फलफूल उत्पादनको सिजन पनि नभएकोले यो संख्या कम भएको हो । तत्कालको लागि यी स्टल खाली जस्तै देखिए पनि उत्पादनको सिजनमा किसानलाई यो स्टल कम हुने देखिन्छ ।’ 

सरकारले तरकारी राखेबापत प्रतिकिलो २० पैसा भाडादर राखेर चैत १८ देखि १२ वटा स्टल छुट्याइएको छ । किसानले उक्त स्टलमा २१ घण्टासम्म तरकारी राखेर बिक्री गर्न सक्छन् । स्टलबाट किसानले सानो परिमाणमा बिक्री गर्न पाउँदैनन् । बोरा/क्रेटकै हिसाबले बिक्री गर्नुपर्ने समितिले जनाएको छ । 

हाल कालीमाटी तरकारी बजारमा पाँच सय स्टल छन्  । ती स्टलहरू १५ वर्षको सम्झौता गरेर वितरण गरिन्छ । किसानका लागि छुट्याइएका १२ वटा स्टलमा दुई सय टनसम्म तरकारी ल्याउँदा ४ सय रुपैयाँ भाडा तिर्नुपर्छ । त्योभन्दा माथि हुँदा प्रतिकिलो २० पैसाको दरले शुल्क लाग्नेछ । यो रकम स्टल व्यवस्थापनमा खटिएका कर्मचारीका लागि खर्च गरिने समितिले जनाएको छ । 

समितिका अनुसार कालीमाटी तरकारी बजारमा सामान्यतया दैनिक आठ सयदेखि साढे आठ सय टन तरकारी भित्रिन्छ । अहिले दैनिक ६ सयदेखि सात सय टनको बीचमा मात्रै आइरहेको छ । आयातित तरकारीमध्ये ३५ देखि ४० प्रतिशत भारतबाट भित्रिने गर्छ । 

 
 

प्रतिक्रिया दिनुहोस