aarthiknews.com विहीबार, १६ जेठ २०८२   Thursday, 29 May, 2025
 

गुठी संस्थान खारेज गर्न सांसदहरुको माग

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १२ असार २०७६
गुठी संस्थान खारेज गर्न सांसदहरुको माग

काठमाडौं । प्रतिनिधिसभामा सांसदहरुले गुठी संस्थान खारेज गर्न सरकारसँग माग गरेका छन् । प्रतिनिधिसभाका सांसद प्रेम सुवालले गुठी  संस्थान खारेज गर्न सरकारसँग माग गरेका हुन्  ।

बिहीबार संघीय संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा भूमि सम्बन्धि विधेयकमाथिको दफावार छलफलमा भाग लिँदै उनले सम्पदा र संस्कृतिहरुको संरक्षण गर्ने अधिकार गुठीलाई दिने व्यवस्था खारेज गरेर सम्बन्धित स्थानीय तहलाई नै दिन पनि सरकारको गम्भिर ध्यानाकर्षण गराए ।

सांसद सुवालले नेपाल ट्रष्ट पनि तत्काल खारेज गर्न सरकारको ध्यानाकर्षण गराए । नेपाल ट्रष्टले गर्ने काम पनि स्थानीय तहले गर्ने भएकाले त्यसमा संघीय सरकारले हस्तक्षेप गरिरहन नपर्ने उनको तर्क छ ।

अर्का सांसद पार्वत गुरुङले भूमिहिनहरुको समस्या समाधानका लागि ‘विशेष आवास क्षेत्र’ को व्यवस्था गर्न सरकारसँग माग गरे । उनले सुकुम्बासी समस्या समाधानको नाममा हुने वन क्षेत्रको विनाश रोक्न पनि सरकारलाई सचेत गराए ।

सांसद गुरुङले वन क्षेत्रको अतिक्रमणले भूमिहिनहरुको समस्या समाधान नहुनेतर्फ पनि सरकारको गम्भिर ध्यानाकर्षण गराए ।

प्रतिक्रिया दिनुहोस