aarthiknews.com बुधबार, ०४ असार २०८२   Wednesday, 18 June, 2025
 

रुसले पाकिस्तानलाई 'ब्ल्यांक चेक' दिँदा दिल्लीमा तनाव

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ३० चैत्र २०७७
रुसले पाकिस्तानलाई 'ब्ल्यांक चेक' दिँदा दिल्लीमा तनाव

एजेन्सी। पछिल्लो समय पाकिस्तान र रुसबिच द्विपक्षीय सम्बन्ध झाँगिएको छ । यसको पुष्टि भारत भ्रमणमा आएका रुसी विदेशमन्त्री सर्गेइ लावरोभले पाकिस्तानको समेत भ्रमण गरेर दिइसकेका छन्। उनको यो भ्रमण विगत ९ वर्षयता रुसी विदेशमन्त्रीले गरेको पहिलो पाकिस्तान भ्रमण हो ।

भ्रमणका  क्रममा उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको एक महत्त्वपूर्ण सन्देश पाकिस्तानी प्रधानमन्त्री इमरान खानलाई दिएको खुलासा भएपछि भारतको राजधानी नयाँ दिल्लीमा खल्ली बल्ली मच्चिएको छ।

पाकिस्तानी अखबार एक्सप्रेस ट्रिब्युनका अनुसार बैठकमा सहभागी पाकिस्तानका एक वरिष्ठ अधिकारीले रुसी विदेशमन्त्री लावरोभलाई उद्धृत गर्दै भने ‘मैले राष्ट्रपतिको एउटा सन्देश लिएको आएको छु । उहाँले पाकिस्तानसँग सहकार्य गर्न रुस तयार भएको र पाकिस्तानलाई आवश्यक परेको जुनसुकै कुरा उपलब्ध गराउन रुस तयार रहेको भन्नुभएको छ ।’ अर्को शब्दमा भन्दा यो रुसले पाकिस्तानलाई ‘ब्ल्यांक चेक’ दिएजस्तै हो ।

स्मरण रहोस्, रुस पाकिस्तानलाई ग्यास पाइपलाइन, कोरिडोर, रक्षा उपकरण र हतियार तथा अन्य जुनसुकै आवश्यक सहयोग गर्न यसअघि नै तयार बनेको छ । पाकिस्तान र रुसले यसअघि नै उत्तर दक्षिण ग्यास पाइपलाइन परियोजनामा काम गरिरहेका छन् । 

हो, पाकिस्तान र रुसबिच भएको यस्तै सहकार्यबाट भारत सशङ्कित बनेको छ । भारत र पाकिस्तानको कटुतापूर्ण सम्बन्धका कारण रुस पाकिस्तानसँग नजिकिँदै गएपछि भारत सशङ्कित भएको हो । त्यसबाहेक रुसले पाकिस्तानलाई अत्याधुनिक हतियार र सैन्य उपकरणहरू पनि उपलब्ध गराउने सहमति गरेपछि भारतमा तनाव बढेको हो ।

प्रतिक्रिया दिनुहोस