aarthiknews.com मंगलबार, १० असार २०८२   Tuesday, 24 June, 2025
 

फेरि बढ्यो जोखिमः नियन्त्रण गर्न नियमहरु बने तर कार्यान्वयन फितलो

  • आजको कान्तिपुर दैनिकबाट
    आजको कान्तिपुर दैनिकबाट
  • मंगलबार, ३१ चैत्र २०७७
फेरि बढ्यो जोखिमः नियन्त्रण गर्न नियमहरु बने तर कार्यान्वयन फितलो

काठमाडौं । गत वैशाख १ गते लकडाउनका कारण घरमै नयाँ वर्ष मनाइरहँदा २ जना नयाँ कोरोना संक्रमित थपिएका थिए । दुई जना थपिँदा पनि ‘अब मरिने भइयो’ भन्दै सर्वसाधारण लामो सास फेर्थे । त्यो दिनसम्म संक्रमितको कुल संख्या १४ मात्र पुगेको थियो ।

संक्रमण हुन सक्ने डरले मानिसहरू पसलबाट ल्याएको दूधका प्याकेट होस् वा फलफूल, घाममा राख्ने र धोइपखाली गर्थे । सिधै भान्सामा लैजान डराउँथे । आफन्तलाई भेट्दासमेत कोरोना सर्ने डरले फोन र सामाजिक सञ्जालबाट नयाँ वर्षको शुभकामना साटासाट गरे । नयाँ वर्ष मनाउन न बजार पसल खुलेको थियो, न त रमाइलो गर्न जाने कुनै पार्क नै । कोरोना संक्रमण बढ्न नदिन सरकारले घोषणा गरेको दोस्रो चरणको लकडाउनको पालना गर्दै सर्वसाधारण घरभित्रै थिए ।

यो वर्षको सुरुवातमा जति त्रास थियो अहिले अन्त्यमा पनि डर कायमै छ । कोरोनाको पहिलो लहर जेठको दोसो सातादेखि बढेर असारको पहिलो साता उच्च बिन्दुमा पुगेको थियो । साउनको पहिलो सातामा न्यून भएको संक्रमण पुनः बढ्दै कात्तिकको दोस्रो सातामा उच्च बिन्दुमा पुग्यो । कात्तिक ५ गते सबैभन्दा बढी ५ हजार ७ सय ४३ संक्रमितको पहिचान भएको थियो । कात्तिक १० मा संक्रमण दर सबैभन्दा बढी ३५ प्रतिशतसम्म पुग्यो । त्यसपछि माघको पहिलो सातामा कम भए पनि चैत दोस्रो सातादेखि फेरि संक्रमण बढ्न थालेको हो । स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले स्वास्थ्य मापदण्ड पालना नभएमा आउँदो जेठ–असारमा संक्रमण दर उच्च बिन्दुमा पुग्ने सरकारको आकलन रहेको प्रतिनिधिसभाको चैत २३ को बैठकमा जानकारी गराइसकेका छन् । पछिल्लो केही दिनयता सरकारको अनुमान सही साबित हुँदै गएको छ ।

यो वर्षको सुरुवातमा संक्रमितको संख्या कमै थियो । लकडाउन र आवतजावत बन्द भएकाले सबैजसो घरभित्रै हुँदा संक्रमण फैलिन पाएको थिएन । वर्षको अन्त्यमा फरक यति हो, लकडाउन छैन । कोरोना नभएकै जस्तै आवतजावत खुकुलो छ । विद्यार्थी संक्रमितको संख्या बढेपछि स्कुल, कलेजलगायतका शैक्षिक संस्थाहरू बन्द गर्ने वा खोल्ने विषयमा बहस जारी छ । सिनेमा हल, नाटकघर यथावत् रूपमा चलेका छन् । सरकारको विरोधमा होस् या समर्थनमा हुने प्रदर्शन जारी छन् ।

प्रतिक्रिया दिनुहोस