काठमाडौ । एसईई परीक्षाको नतिजा सार्वजनिक भएको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइईको नतिजा भर्खरै सार्वजनिक गरेको हो ।
गत वर्षको परीक्षामा नियमिततर्फ ४ लाख ५० हजार १ सय ८६ र आंशिक गरी जम्मा ४ लाख ७५ हजार परीक्षार्थी सहभागी भएका थिए ।
छात्रा २ लाख ३८ हजार ५ सय ५८ र छात्र २ लाख ३६ हजार ४ सय सहभागी थिए । यीमध्ये सामुदायिक विद्यालयबाट ३ लाख ४० हजार १ सय ९६ र निजीबाट १ लाख ३४ हजार ८ सय सहभागी भएका थिए ।
ए प्लस अर्थात् विशिष्ट श्रेणीमा उत्तीर्ण भएका १७ हजार पाँच सय ८० विद्यार्थीमध्ये सामुदायिक विद्यालयबाट दुई हजार सात सय ९७ जना मात्र रहेका छन्। त्यस्तै ८० देखि ८९ प्रतिशत पाउने विद्यार्थीले ए (उत्कृष्ट) नतिजा ल्याउनेमध्ये ५१ हजार तीन सय ३७ जना विद्यार्थीमध्ये सामुदायिक विद्यालयका ११ हजार दुई सय २३ मात्र रहेका छन्।
त्यस्तै बी प्लस ल्याउने ६३ हजार सात सय ४१ जनामध्ये २६ हजार तीन सय ६६ सामुदायिक विद्यालयबाट परेका छन्। बी ल्याउने ७६ हजार पाँच सय ६४ मध्ये ५३ हजार सात सय ३० जना सामुदायिक विद्यालयबाट परेका छन्।
परीक्षा नियन्त्रण कार्यालयका अनुसार ए प्लस विशिष्ट श्रेणीमा १७ हजार पाँच सय ८० विद्यार्थी पास भएका छन् । भने ए ग्रेडमा ५१ हजार तीन सय ३७ विद्यार्थी उत्तीर्णको परीक्षा नियन्त्रक दुर्गाप्रसाद अर्यालले जानकारी दिए ।
त्यस्तै बी प्लस ग्रेडमा ६३ हजार सात सय ४१, बी ग्रेडमा ७६ हजार पाँच सय ६४ सी प्लस ग्रेडमा ९८ हजार दुई सय सात र सी ग्रेडमा ९५ हनार तीन सय सात विद्यार्थी उत्तीर्ण भएका छन् ।
त्यस्तै डी ग्रेडमा ४३ हजार आठ सय ४१ विद्यार्थी पास भएका छन् भने इ ग्रेडमा ४ हजार चार सय २९ जना उत्तीर्ण भएका छन् ।
१९९० देखि सुरु भएको एसएलसी परीक्षालाई २०७१ सालदेखि प्राविधि धारतर्फ ग्रेडिङ प्रणालीमा लगिएको थियो भने सामान्य धारतर्फ २०७२ देखि सुरु गरिएको हो ।
अंकको साटो ग्रेड प्रणालीमा आधारित हुने यो प्रणालीमा ९० देखि १०० प्रतिशत अंक प्राप्त गर्ने विद्यार्थीले ए प्लस विशिष्ट श्रेणी, ८० देखि ८९ प्रतिशत पाउने विद्यार्थीले ए (उत्कृष्ट) पाउँछ ।
त्यसै गरी ६० देखि ७९ प्रतिशत पाउने विद्यार्थीले बी (धेरै राम्रो) पाउँछ भने ४० देखि ५९ प्रतिशत पाउने विद्यार्थीले सी (राम्रो) ग्रेड पाउँछ । २५ देखि ३९ प्रतिशत ल्याउनेलाई डी (कमजोर) र २५ भन्दा कम प्रतिशत ल्याउनेलाई ई (धेरै कमजोर) उल्लेख भएको मार्कसिट पाउनेछन् ।
परीक्षामा ५० जना विद्यार्थीको परीक्षा रद्द गरिएको जनाएको छ । परीक्षफल चित्त नबुझेमा प्रतिविषय ५ सय रुपयाँ तिरी पुनर्योग गर्न सकिने परीक्षा बोर्डले जनाएको छ ।
एसइईको नतिजा अनलाइनबाट हेर्न मिल्ने व्यवस्था कार्यालयले गरेको छ । जसअन्तर्गत विभिन्न वेबसाइट तथा एसएमएसबाट नतिजा थाहा पाउन सकिन्छ ।
२०७५ साल चैतमा सञ्चालन भएको यस वर्षको परीक्षामा देशभरबाट कूल चार लाख ७५ हजार तीन परीक्षार्थी परीक्षामा सहभागी भएका थिए ।
नतिजा नेपाल टेलिकमका ग्राहकले १६०० मा डायल गरी प्राप्त निर्देशन अनुसार जानकारी लिन सक्नेछन्।
टेलिकम तथा एनसेलको मोबाइल प्रयोगकर्ताले १६०० मा म्यासेज गरेर पनि नतिजाबारे जानकारी लिन सक्नेछन्। परीक्षा नियन्त्रण कार्यालयको वेबसाइट http://see.gov.np बाट पनि नतिजा हेर्न सकिनेछ ।
नेपाल टेलिकमको वेबसाइट http://see.ntc.net.np/ र राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट http://www.neb.gov.np/results बाट पनि नतिजा हेर्न सकिनेछ ।
विगतका वर्षहरुमा जस्तै यो वर्ष पनि ३५००१ मा एसएमएस गरेर एसईईको उक्त नतिजा हेर्न सकिनेछ ।
एसईईको नतिजा सार्वजनिक भए लगत्तै स्प्यारो एसएमएसको नम्बर ३५००१ मा एसएमएस गरेर सजिलै आफ्नो परीक्षाफल थाहा पाउन सकिनेछ । यसका लागि अंग्रेजीमा एसईई (SEE) टाइप गरेर एक स्पेस दिदैं आफ्नो सिम्बोल नम्बर टाइप गरेर ३५००१ मा पठाउनुपर्नेछ।
यता पनि हेर्नुहाेस्

प्रतिक्रिया दिनुहोस