
नयाँ वर्षको पहिलो दिनदेखि नै प्रधानमन्त्री केपी शर्मा ओली सरकार विरोधीहरूका लागि निकै भारी बनेका छन् । राष्ट्रका नाममा सम्बोधन गर्दा ओली राजनीतिक कुरा कम र आर्थिक विषयमा बढी केन्द्रित देखिए । जसले गर्दा उनको विरोध गर्नेहरू प्रतिक्रिया विहीन बनेका छन् ।
हुन त ओलीको सम्बोधन धेरै नै रणनीतिक प्रकृतिको छ । तथापि त्यसलाई ठाडै काट्न सक्ने क्षमता विपक्षीहरुसंग छैन । उनको विरुद्धमा कनेर आफ्ना भनाइहरू राख्नुपर्ने अवस्थामा यसअघि नै पुगिसकेका प्रचण्ड र माधव नेपाल लगायतका नेताहरू अब सार्वजनिकरुपमा ओलीको के भनेर विरोध गर्ने भन्ने विखलबन्दमा पर्ने स्थिति बनेको छ ।
प्रचण्डलाई एमसीसी काउसो
भरसक एमसीसीबारे बाल्नै नपरे हुन्थ्यो भन्ने मनोदशामा रहेका प्रचण्ड सो विषयलाई प्रधानमन्त्रीले आफ्नो सम्बोधनको महत्त्वपूर्ण हिस्सा बनाएपछि स्वतः अप्ठ्यारोमा परेका छन् ।
यसअघि नै आन्दोलनका क्रममा कार्यकर्ताहरूले एमसीसीको विरोधमा नारा लगाउँदा त्यसलाई रोक्न खोजेको र सो सम्भव नभएपछि विरोध सभा नै नभएपछि विरोध सभा नै छोडेर प्रचण्ड भागेको भिडियो सार्वजनिक पनि भइसकेको छ । अब एमसीसीलाई संसद्मा निर्णयार्थ प्रस्तुत हुनबाट रोक्ने आफ्नो कर्मलाई उनले कसरी बचाउ गर्छन् या सभामुखलाई दबाब दिएर एमसीसी पारित गर्ने प्रक्रिया रोक्ने कामको जिम्मेवारी उनले लिन्छन् या लिँदैनन् भन्ने विषय पनि महत्त्वपूर्ण बनेको छ ।
सम्बोधनमा प्रधानमन्त्री ओलीले निकै जोडतोडका साथ दोहोर्याए, ‘नेपाली काँग्रेस र नेकपा माओवादी सरकारमा हुँदा एमसीसी सम्झौता गरिएको थियो । त्यो निर्णयार्थ हामीले संसद्मा टेबल गरेका छौँ । निर्णयार्थ प्रस्तुत गरिएको छैन ।’ ओलीले सभामुखमाथि सधै धावा बोले, ‘सरकारले प्रस्तुत गरिसकेपछि निर्णयार्थ प्रस्तुत नगर्ने संवैधानिक कुनै अधिकार कसैसँग हुँदैन । त्यो गर्नै पर्ने हुन्छ । तर, संविधान नै नमान्ने जिद्धि गर्ने त्यो प्रवृत्ति हामीले झेलिरहेका छौँ ।’
यसरी प्रधानमन्त्री ओलीले संविधान नमानेको भन्दै आरोप लगाउनेहरूले नै संविधान नमानेको घटना स–प्रमाण सार्वजनिक गरेपछि अब प्रचण्डले के भनेर आफ्नो बचाऊँ गर्लान् ? सायद, यो विषयमा प्रवेश नै नगर्नु या कहीँ कतै सार्वजनिकरुपमा एमसीसीको विषय उठ्यो भने टाङमुनि पुछर लुकाएर त्यहाँबाट भाग्नुको विकल्प अब प्रचण्डसँग छैन ।
एमसीसी सम्झौता गर्ने प्रमुख प्रतिपक्ष काँग्रेस त घोषितरुपमा नै यसलाई पास गर्ने पक्षमा छ । आवश्यक परे एमसीसी पारित गराउन अभियान नै सञ्चालन गर्ने घोषणा समेत कांग्रेसले गरिसकेको छ । यसो हुँदा मनमा एमसीसी पास गर्ने रहर भएर पनि कार्यकर्ताको चाहाना पुरा गर्न त्यसको पक्षमा खुलेर बोल्न नसकेको माओवादी अध्यक्ष प्रचण्ड र एमालेका ओली विरोधी नेताहरू अहिले अप्ठ्यारोमा परेका छन् । एमसीसी उनीहरूका लागि वास्तवमै भालुको कान बनेको छ । छोडौँ त्यसैले खाने डर, समातिराखौँ कतिखेर चिप्लिने हो ठेगान छैन ।
अर्थमा केन्द्रित, राजनीतिमा उदासीन
वैशाख १ गतेको प्रधानमन्त्री ओलीको सम्बोधन पुरापुर देशको अर्थतन्त्र र विकासमा केन्द्रित रह्यो । उनले २०७७ साललाई प्रतिकुलताका बिच पनि निरर्थक बन्न नदिएको दाबी गर्दै वर्ष २०७७ मा के के काम भए बताए । केपी ओलीले आफूले विकास गर्न खोज्दा त्यो रोक्न तत्कालीन नेकपाका आफू विरोधी नेताहरू लागि परेको दाबी गर्दै आएकोमा त्यसलाई पुष्टि गर्न हिजोको सम्बोधनलाई केन्द्रित गरे ।
राजनीतिक प्रतिकुलता हुँदा हुँदै पनि कोरोना महामारीको रोकथामका गतिविधि मार्फत सामाजिक र आर्थिक दुवै क्षेत्रमा कम क्षति पुग्ने वातावरण निर्माण गरेको उनको दाबी छ । यसबिच वर्ष २०७७ मा व्यापार घाटा कम गर्न थोरै भए पनि सफलता मिलेको बताउँदै उनले जनतामा निराशा छर्ने र केही पनि भएको छैन भन्ने हल्ला चलाएर जनतामा असन्तुष्टि थप्ने प्रयासबाट सरकार विचलित नभएको भन्ने जस्ता राजनीतिक कुराहरू पृष्ठभूमिमा राखेर उनले वर्ष २०७७ मा सुरु गरिएका र पुरा भएका विकासका योजनाहरूको फेहरिस्त नै पेस गरेका छन् ।
जसले ओली विरुद्ध जनता भड्काउन ओलीले केही गरेनन् भन्नेहरूलाई गतिलो झापट हानेको छ । भलै, आफूले जस लिन नखोजेको र त्यो रहर पनि नभएको भन्दै मेलम्चीको पानी धारा धारामा झारेको कुराको समेत आफैले जस लिने विरेधाभाषपुर्ण कथन ओलीको सम्बोधनमा छ । ओली कै पालामा मेलम्चीको पानी धारामा झरेको र ओलीलाई विकास विरोधी भन्ने प्रचण्डकै बुहारी खानेपानी मन्त्री रहँदा उनकै अनिर्णय र गलत गतिविधिका कारण मेलम्चीको पानी काठमाडौंमा झर्न लगभग दुई वर्ष ढिला भएको तथ्य काठमाडौंवासीले बिर्सिएका छैनन् । यस अर्थमा पनि ओलीको जस लिने प्रयत्न अस्वाभाविक मान्न सकिँदैन ।
सक्रिय ओली, थकित विरोधी
केही समय अघिसम्म यस्तो परिस्थिति थियो कि प्रधानमन्त्री केपी ओली रक्षात्मक थिए । उनी विरोधीहरूमा बेग्लै जोश र जाँगर देखिन्थ्यो । तर, अहिले स्थिति उल्टिएको छ । हरेक राजनीतिक भाषणमा ओली तिखो प्रहार गर्छन्, प्रचण्ड र माधव नेपाललाई । तर, जवाफ फर्काउने ल्याकत उनीहरूमा देखिँदैन । फलतः ओलीको समर्थनमा दिनप्रतिदिन माहौल बनिरहेको छ । उनी विरोधीहरू कमजोर र निःशब्द बन्दै छन् ।
यही बुझेर ओलीले वैशाख १ गतेदेखि सायद राजनितिकरुपमा ओरालो लागेकाहरूलाई अब धेरै नखेद्ने निष्कर्ष निकाले । उनले विदेशमा रहेका नेपालीहरूलाई भर्चुअल सम्बोधन मार्फत नेपालमा लगानी गर्न आग्रह गरे । राजनितिकरुपमा प्रचण्डको पछि लागेर अङ्गभङ्ग भएका जनयुद्धका घाइतेदेखि अयोग्य लडाकुसम्मलाई राष्ट्रद्वारा सम्मान गरे । अनि धेरैको भावना जित्नेखालका काम गरे ।
अहिले ओलीलाई परिवर्तन विरोधी र जनताका समस्याहरूप्रति उदासीन भन्दै आरोप लगाउने प्रचण्डलाई कति अप्ठ्यारो परेको होला त्यसको सहज अनुमान लगाउन सकिन्छ । उनी आफू शक्तिमा रहँदा तिर्न लडाकुको पैसा खोसे । घाइते र अपागंलाई बेवास्ता गरे । अनि, बेपत्ता र सहिद परिवारलाई चिन्नै छाडे । त्यसको ठिक विपरीत अहिले ओली सबैलाई खोजी खोजी उनीहरूको योगदानको कदर गर्दै छन् । यो राजनितिकरुपमा उनको निकै चातुर्यपूर्ण र सकारात्मक कदम हो ।
२०६०/०६१ सालको जनआन्दोलनका बेला कौसीमा बसेर त्यसको उपहास गर्ने नेताका रूपमा माधव नेपाल समूहले चित्रित गरिरहेका ओली अहिले त्यस बेलाका घाइते र अपागंहरुलाई सम्मान र सहयोग गर्न लागिपरेका छन् । सहिद परिवारको पिडा र दुखमा साथ दिन सक्रिय छन् । यी सबै कामले उनलाई अझ बढी आक्रामक र मानसिकरुपमा बलियो बनाउँदै छ भने प्रचण्ड– माधव नेपाल जस्ता नेताहरूलाई रक्षात्मक र शिथिल बनाएको छ ।
प्रतिक्रिया दिनुहोस