काठमाडौं । अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारीले नेपालमा कोरोना संक्रमणको दोस्रो लहर बढेकोले विद्यालयहरु सञ्चालन गर्न नहुने धारणा राखेका छन् । शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले बालबालिकाहरु अभिभावक तथा आमा–बुवाको मुटुका टुक्रा भएको उल्लेख गर्दै भने,‘बच्चाहरु राष्ट्रको निधि हुन् र हाम्रा सम्पत्ति हुन्, ती सम्पत्तिलाई स्वास्थ्यको जोखिम मोलेर मृत्युवरण गर भनेर शहिद घोषणा गर्न सकिँदैन् ।’
त्यस्तै, कार्यक्रममा एनप्याब्सनका महासचिव सुवास न्यौपानेले जस्तोसुकै अफ्ठ्योरो परिस्थिति र महाआपत्तिमा पनि शिक्षाबाट बालबालिका बन्चित हुनु हुँदैन भन्ने विश्वव्यापी मान्यता भएको बताए ।
वस्तुस्थितिको सही मुल्याकंन गरेर सरकारले निर्णय गर्नपर्ने उनको भनाई थियो । विद्यार्थी, शिक्षक तथा अभिभावकहरुलाई सरकारले अन्यौलपुर्ण वातावरणलाई नराख्न समेत सरकारलाई आग्रह गरे । उनले वायुप्रदुषणको कारण देखाउदै ४ दिनसम्म विद्यालय बन्द गरेकोमा आपत्ति जनाएका थिए । ‘हल्लाको पछि लागेर सरकारले निर्णय गर्न मिल्दैन् ।’, उनले अघि भने,‘जहाँ संक्रमण छ, त्यहाँमात्र विद्यालय बन्द हुनुपर्छ । समग्र विद्यालयलाई बन्द गर्नुहुँदैन् ।’
कार्यक्रममा प्याब्सनका अध्यक्ष टिका पुरीले अहिलेनै विद्यालय बन्द गर्नुपर्ने अवस्था नभएको धारणा राखे । विकराल अवस्था आउनु भन्दा पहिला नै सबै मापदण्डको व्यवस्था गर्ने र नियमको पालन गर्नुपर्नेमा जोड दिए । शिक्षाको कार्य ढाँचा (निर्देशिका) लाई पुर्णरुपले विद्यालयले पालना गर्नुपर्ने उनको भनाई थियो । उनले धेरै विद्यार्थी भएका विद्यालयले दुई सिफ्टमा कक्षा संचालन गरेर र भौतिक दुरी कायम गरेर विद्यालय संचालन गर्नुपर्नेमा जोड दिए ।
बिहीबार स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तिले १४ जिल्लालाई अति प्रभावित भएको र विद्यालय नजान गरेको अपिललाई आपत्ति जनाउदै उनले भने,‘स्वास्थ्य र शिक्षा मन्त्रालयको सहमतिमा मन्त्रिपरिषद्को निर्णय नै नगरी जारी गरिएको हो ।’
उनले आजको विज्ञप्ती शिक्षा तथा प्रविधी मन्त्रायल र काठमाडौं महानगरको सहकार्य र सल्लाहमा आएको उनको भनाई थियो । स्वास्थ्यसम्बन्धी मापदण्ड पालना गर्नुपर्ने, स्वास्थ्य मापदण्ड पालन गरे÷नगरेको अनुगमन र निरीक्षण सरोकारवाला निकायले गर्नुपर्ने उनको माग थियो ।
प्रतिक्रिया दिनुहोस