aarthiknews.com सोमबार, ०९ असार २०८२   Monday, 23 June, 2025
 

विद्यार्थीमा कोरोना संक्रमण बढ्यो

  • आजको कान्तिपुर दैनिकबाट
    आजको कान्तिपुर दैनिकबाट
  • आइतबार, ०५ बैशाख २०७८
विद्यार्थीमा कोरोना संक्रमण बढ्यो

काठमाडौं । तीव्र रूपमा बढिरहेको कोरोना संक्रमणले बालबालिका बढी प्रभावित भएका छन् । दिनहुँजसो विद्यार्थी संक्रमित हुने क्रम बढे पनि विद्यालयमा भौतिक पढाइ बन्द गरिएको छैन । स्वास्थ्य सुरक्षाबिनै विद्यालय सञ्चालन भइरहेकाले पनि बालबालिका बढी जोखिममा छन् । विद्यालयहरूले स्वास्थ्य मापदण्ड अपनाएको दाबी गरे पनि सहरी क्षेत्रका बालबालिकामा संक्रमण बढ्दो छ ।

पछिल्लो २४ घण्टामा देशभर ८९ बालबालिका संक्रमित भएका छन्, जसमा ९ वर्षसम्मका १७ जना र १०–१९ वर्षका ७२ जना छन् । विराटनगरमा विद्यालय गइरहेका ७ देखि १४ वर्ष उमेरका २१ बालबालिकामा सातायता कोरोना संक्रमण पुष्टि भएको छ । विराटनगर महानगर स्वास्थ्य शाखाले संक्रमितमध्ये आधा ठूलो निजी विद्यालयमा अध्ययनरत रहेको जनाएको छ । पछिल्लो साता विराटनगरमा १ सय ३८ जनामा संक्रमण पुष्टि भएको छ, तीमध्ये २१ जना २० वर्षमुनिका छन् ।

बालबालिकामा संक्रमण पुष्टि भए पनि विराटनगर महानगरपालिका तत्काल विद्यालय बन्द गर्ने पक्षमा छैन । मेयर भीम पराजुलीका अनुसार चाँडै परीक्षा सकाएर विद्यालय बन्द गर्ने तयारी गरिएको छ । आगामी सोमबारदेखि सबै विद्यालयलाई स्वास्थ्य मापदण्ड अपनाएर सिफ्टमा परीक्षा लिन निर्देशन दिइएको छ । यहाँका अधिकांश विद्यालयले वैशाख ८ देखि परीक्षाको तालिका बनाएका छन् ।

प्याब्सनका केन्द्रीय अध्यक्ष टीकाराम पुरीले कोरोनाको उच्च जोखिममा रहेका १४ वटा जिल्लामा स्थानीय पालिकासँग समन्वय गरेर अवस्था हेरी विद्यालय बन्द गर्नुपर्ने स्थिति भए बन्द गर्ने र चालु वर्षको शैक्षिक सत्र वैशाखभित्र सकेर केही दिनका लागि छुट्टी दिने निर्णय गरेको बताए ।विराटनगरमा शुक्रबार १४ जना संक्रमित थपिएको सामाजिक विकास मन्त्रालयको तथ्यांक छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मोरङमा १८, झापामा ८ सुनसरी र उदयपुरमा २–२ नयाँ संक्रमित थपिएका छन् ।

प्रदेश २ मा बालबालिकासहित कम उमेरका मानिसमा संक्रमण देखिइरहे पनि विद्यालय तथा कलेज भने स्वास्थ्य मापदण्डबिनै सञ्चालन भइरहेका छन् । सामाजिक विकास मन्त्रालयको स्वास्थ्य निर्देशनालयको तथ्यांकअनुसार शनिबार संक्रमण देखिएका ६९ जनामध्ये २० जना ३० वर्षमुनिका छन् । शनिबार थपिएका संक्रमितमध्ये १२ वर्ष उमेरका बालक पनि छन् । सबै जिल्लामा विद्यालय र क्याम्पस निस्फिक्री सञ्चालन भइरहेका छन् । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार वीरगन्जस्थित नर्सिङ क्याम्पसका २५ जना विद्यार्थीमा कोरोना पुष्टि भएयता प्रदेशका अन्य कुनै विद्यालय वा क्याम्पसका विद्यार्थीमा संक्रमण फैलिइसकेको छैन ।

गण्डकी प्रदेशमा पनि बालबालिकामा संक्रमण बढेको छ । संक्रमित बालबालिकामध्ये अधिकांश कास्कीका छन् । प्रादेशिक स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रका संयोजक नवराज शर्माका अनुसार पछिल्लो एक सातामा ८९ बालबालिका संक्रमित भएका छन् । 

प्रतिक्रिया दिनुहोस