aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

गृहमन्त्रीमा रामबहादुर थापा पुनःनियुक्त

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०५ बैशाख २०७८
गृहमन्त्रीमा रामबहादुर थापा पुनःनियुक्त

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीका सिफारिशमा नेकपा (एमाले)का नेता रामबहादुर थापालाई गृहमन्त्रीमा पुनः नियुक्त गरेकी छिन् । नेकपा (एमाले) संसदीय दलका नेता ओलीका नेतृत्वमा विसं २०७४ फागुन ३ गते गठित मौजुदा मन्त्रिपरिषद्मा नेपालको संविधानको धारा ७८ को उपधारा (१) बमोजिम सो नियुक्ति गरिएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता रुपनारायण भट्टराईद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ ।  

गृहमन्त्री थापा आजै राष्ट्रियसभा सदस्यबाट मुक्त भएका थिए । कुनै पनि व्यक्ति सांसद पदमा नरहे पनि छ महिनासम्म मन्त्री बन्न पाउने संवैधानिक प्रावधान छ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का तर्फबाट विसं २०७४ को राष्ट्रियसभा सदस्य निर्वाचनमा वाग्मती प्रदेशबाट चयन भएका थापालाई राजनीतिक दलसम्बन्धी ऐन, २०७३ बमोजिम दल त्याग गरेकाले राष्ट्रियसभा सदस्यबाट मुक्त गरिएको थियो ।   

राष्ट्रियसभामा माओवादी केन्द्रका सचेतक दीनानाथ शर्माले उनीलाई सांसदबाट मुक्त गर्न गत चैत २७ गते लिखितपत्र पेश गर्नुभएबमोजिम राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आज स्वीकृत गरेका थिए । राजनीतिक दलसम्बन्धी ऐनअनुसार थापाको सदस्य पद रिक्त भएको संसद् सचिवालयले जनाएको छ ।  

प्रतिक्रिया दिनुहोस