aarthiknews.com सोमबार, ०९ असार २०८२   Monday, 23 June, 2025
 

घुमाइफिराइ ‘ताजा जनादेश’

  • आजको अन्नपूर्ण पोस्ट् दैनिकबाट
    आजको अन्नपूर्ण पोस्ट् दैनिकबाट
  • मंगलबार, ०७ बैशाख २०७८
घुमाइफिराइ ‘ताजा जनादेश’

काठमाडौं । एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले महाधिवेशन आयोजक समितिको सोमबारको बैठकमा  ‘ताजा जनादेशमा तयार रहन’ कार्यकर्तालाई निर्देश गरे। उनको राजनीतिक प्रतिवेदन ‘चुनाव तयारीको दस्तावेज’सरह थियो। ‘प्रतिनिधिसभाको वर्तमान संरचना सरकारलाई असहयोग गर्न र यसलाई सहज ढंगले चल्न नदिन पर्याप्त छ। तर, वैकल्पिक सरकार दिन र देश र जनताको हितमा काम गर्न दिन प्रतिनिधिसभा सक्षम देखिएको छैन।

यस्तो स्थिति लामो समयसम्म रहिरहनु उचित हुँदैन’, अध्यक्ष ओलीको प्रतिवेदनमा लेखिएको छ, ‘यस्तो विरोधाभासको विकल्प दुईवटा मात्रै हुन सक्छन्– कि संसद्मा प्रतिनिधित्व गर्ने दलहरूका बीचमा नीतिमा आधारित दिगो समीकरण बनाउने र संसद्लाई सहज ढंगले चलाउने कि त ताजा जनादेशका लागि अगाडि बढ्ने।’ 

प्रधानमन्त्रीको बुझाइमा समीकरणको सम्भावना क्षीण छ। अर्थात्, चुनावकै सम्भावना बलियो छ। ‘वर्तमानमा एमालेलाई बाहिर राखेर बन्ने समीकरण दिगो हुने सम्भावना छैन। त्यसले केही व्यक्तिका सत्ता आकांक्षा पूरा गर्नेबाहेक देश र जनताको पक्षमा सकारात्मक योगदान दिने सम्भावना त झनै छैन। तत्काल नेकपा (एमाले)को नेतृत्वमा अर्को कुनै राजनीतिक दल सहभागी भएर दिगो राजनीतिक निकास खोज्ने सम्भावना पनि बलियो देखिएको छैन’, ओलीले भनेका छन्। 

‘केही व्यक्तिले भनेजस्तो ताजा जनादेशमा जानु प्रतिगमन होइन। जनताको बीचमा जानु, सरकारका कामबारे जनतालाई मूल्यांकन गर्ने मौका दिनु र जनताले आवधिक निर्वाचनमार्फत आफूले विश्वास गरेको दललाई सरकार चलाउने जनादेश दिनु नै लोकतन्त्रको विशेषता हो। निर्वाचनमा जाने कुरालाई प्रतिगमन भन्नु सारमा जनताको सार्वभौमसत्तालाई अस्वीकार गर्नु, नीतिहीन गठबन्धनको बाटो सरकारमा जान जस्केला रोज्नु र जनतालाई अविश्वास गर्नु हो’, ओलीले भनेका छन्। 

ओलीले परिवर्तित सन्दर्भमा पार्टीको सुदृढीकरण तथा शुद्धीकरण, समृद्धिको अभियान र नयाँ निर्वाचनको तयारी गरी तीन कार्यभार प्रस्तुत गरेका छन्। पूर्ण कार्यकाल पूरा भए पनि २० महिनाभित्रै नयाँ निर्वाचन हुने अवगत गराउँदै तरल राजनीतिक कारणले छिटो निर्वाचनमा जानुपर्ने सम्भावना बढ्दै गएको उनले औंल्याएका छन्।  प्रतिवेदनमा माधवकुमार नेपाल पक्षमा लागेकाहरूको नाम नलिईकन अलमलिएका, भड्कावपूर्ण चिन्तन र गतिविधिमा संलग्न रहेका विशेषण दिइएको छ। तिनलाई पार्टीमा फर्किन आह्वान गरिएको छ।

प्रतिक्रिया दिनुहोस