काठमाडौं । आफूलाई 'धर्ती माता' बताएर युवतीलाई यातना दिने बिष्णु कुँवर पक्राउ परेकी छन् । नेपाल प्रहरीको विशेष टोलीले उनलाई शुक्रबार बिहान बालाजुबाट पक्राउ गरेको हो । भद्रकाली मन्दिरमा एक साताअघि उनले युवतीलाई बोक्सी आएको भन्दै कुटपिट गरेकी थिईन् । उक्त कुटपिटको भिडियो सार्वजनिकपछि प्रहरीले उनलाई बयानका लागि बोलाएको थियो भने पीडितलाई उजुरी दिन आग्रह गरेको थियो ।
तर उनी प्रहरीलाई छल्दै आएकी थिईन् । बुटबलबाट काडमाडौं आएकी धर्तीमाताले सार्वजनिक स्थलमै बोक्सी भगाउने भन्दै युवतीलाई कुटपिट गरेकी थिइन् । उनलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्नका लागि प्रहरीले चासो देखाएको थियो ।
महानगरीय प्रहरी परिसर टेकुका प्रवक्ता प्रहरी नायव उपरीक्षक होबिन्द्र बोगटीले भद्रकाली मन्दिरजस्तो सार्वजनिकस्थलमा भएको कुटपिटको घटनालाई प्रहरीले अनुसन्धानको दायरामा ल्याउन प्रक्रिया थालेको बताए ।
पक्राउ पर्नुअघि कुँवरसँग फोन सम्पर्क भएपनि उनले आफू भक्तको घरमा रहेको र भक्तकै इच्छाअनुसार त्यस्तो गरेको जवाफ दिएको थिईन् । तर कुँवरले आफू रहेको स्थान भने खुलाउन मानेकी थिईनन् ।
प्रतिक्रिया दिनुहोस