काठमाडौं । दोधारा–चाँदनी क्षेत्रमा सुक्खा बन्दरगाहको गुरुयोजना तयार भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको नेपाल इन्टरमोडल यातायात विकास समितिले गुरुयोजना तयार पारेको हो ।
‘सुदूरपश्चिम प्रदेशमा सुक्खा बन्दरगाह बनाउने भनेर जाँच सुरु गरेका छौं । यसका लागि गुरुयोजना (मास्टरप्लान) तयार भएको छ,’ काठमाडौंमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले भने ।
गुरुयोजनापछि दोधारा–चाँदनी क्षेत्रमा सुक्खा बन्दरगाहका लागि वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) र विस्तृत परियोजना रिपोर्ट (डीपीआर) बनाउने प्रक्रियामा छ । प्रोजेक्टको नाम ‘आईसीडी आईसीपी इन दोधारा चाँदनी एरिया’ दिइएको गजुरेलले जानकारी दिए । समितिका अनुसार यो बन्दरगाहको मुख्य अवधारणा सुदूरपश्चिम क्षेत्रको विकास, व्यापार विस्तार र व्यवस्थापन हो ।
कन्सल्टेन्टले दोधारा–चाँदनी क्षेत्रमा सुक्खा बन्दरगाहका लागि २८० बिघा जग्गा पहिचान गरेको छ, जसमा नौ वटा जिल्ला पर्ने समितिले जानकारी दिएको छ । सुक्खा बन्दरगाहका लागि ६.२ किलोमिटर पहुँचको बाटो सडक विभागले निर्माण गरिरहेको समितिका सिभिल इन्जिनियर कमलप्रसाद जोशीले जानकारी दिए । ‘सुक्खा बन्दरगाहका लागि महाकाली सडकलाई जोड्ने एउटा चार लेनको आरसीसी पुल ७०–८० प्रतिशत निर्माण भइसकेको छ,’ उनले कार्यपत्र प्रस्तुतिका क्रममा भने ।
यो सुक्खा बन्दरगाह भारतको सीमादेखि एक सय मिटर दूरीमा छ । बन्दरगाहको प्रवेशद्वार भारतबाट आउने गाडी र रेलका लागि छुट्टाछुट्टै हुनेछन् । समितिले यो परियोजनालाई दुई चरणमा बाँडेको छ । पहिलो चरणमा, सुक्खा बन्दरगाहको आईसीपीमा रेलबाहेकको क्षेत्र निर्माण हुनेछ । यसका लागि करिब ७ अर्ब रुपैयाँ इस्टिमेट भएको समितिले बताएको छ । त्यस्तै दोस्रो चरणमा रेलवे कनेक्टिभिटी जहाँ कार्गोसँग सम्बद्ध हुनेछ । यसका लागि करिब १२ अर्ब रुपैयाँ इस्टिमेट गरेको छ ।
प्रतिक्रिया दिनुहोस