aarthiknews.com सोमबार, ०९ असार २०८२   Monday, 23 June, 2025
 

भटमासको प्रशोधित तेल निकासी ३ गुणा बढ्यो

  • आजको आर्थिक अभियान दैनिकबाट
    आजको आर्थिक अभियान दैनिकबाट
  • शुक्रबार, १० बैशाख २०७८
भटमासको प्रशोधित तेल निकासी ३ गुणा बढ्यो

वीरगञ्ज । वीरगञ्ज नाकाबाट भटमासको प्रशोधित तेलको निर्यात उल्लेख्य बढेको छ । वीरगञ्ज भन्सार कार्यालयका अनुसार चालू आर्थिक वर्ष (आव) २०७७/७८ को पहिलो ९ महीनामा १ लाख १९ हजार २०० मेट्रिकटन (मेट) भटमासको प्रशोधित तेल निकासी भएको छ ।

बारा र पर्साका तेल उत्पादकले चालू वर्षको साउनदेखि चैतसम्ममा भारततर्फ निकासी गरेको यो परिमाण अघिल्लो आव २०७६/७७ को समीक्षा अवधिभन्दा ३ गुणा बढी हो । गतवर्ष चैत महीनासम्ममा यो नाकाबाट ३८ हजार ३६ मेट यस्तो तेल निकासी गरेका थिए ।

अघिल्लो वर्षसम्म पाम आयल निकासी गरिरहेका उद्योगी अहिले भटमासको तेलमा केन्द्रित भएका हुन् । भारतले पाम आयल आयातमा प्रतिबन्ध लगाएपछि उद्योगीले भटमास र सूर्यमुखी तेल निर्यात बढाएको भन्सारको तथ्यांकले देखाउँछ । स्वदेशी तेल उत्पादकले तेस्रो मुलुकबाट अर्धप्रशोधित तेल भित्र्याएर प्रशोधन गरेर भारततर्फ निकासी गर्दै आएका छन् । नेपालबाट निकासी हुने वस्तुको मुख्य सूचीको अग्रस्थानमा भटमासको तेल छ । वीरगञ्ज भन्सारबाट मात्रै चालू आवको ९ महीनामा करीब १९ अर्ब २५ करोड रुपैयाँ बराबर मूल्यको भटमास तेल निर्यात भएको देखिन्छ ।

सूर्यमुखीको तेल निकासी पनि ५ गुणा बढेको छ । उद्योगीले यो नाकाबाट वर्षको पहिलो ९ महीनामा ६ हजार ६४० मेट सूर्यमुखी तेल भारततर्फ पठाएका छन् । यो परिमाण भटमासको तेलको तुलनामा कम भए पनि अघिल्लो वर्ष निकासी भएको सूर्यमुखी तेलभन्दा ५७ गुणा बढी हो । अघिल्लो वर्षको समीक्षा अवधिमा ११६ मेट सूर्यमुखी तेल भारत निकासी भएको थियो । प्रशोधित तेल निकासी व्यापारमा मुख्य योगदान दिने वस्तु बनेको वीरगञ्ज भन्सारका अधिकृत रमेश सुकमनीले बताए । गत चैतमा भटमासको तेल अत्यधिक निकासी भएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस