
काठमाडौं । भारतमा संक्रमण चुलिएसँगै नेपाल छिर्नेको भीड बढेपछि सीमा नाकामा परीक्षण र संक्रमण देखिएकाको व्यवस्थापन सरकारको नियन्त्रणभन्दा बाहिर पुग्न थालेको छ । आइसोलेसन सेन्टरको सुविधा नभएकाले संक्रमण पुष्टि भएकाहरू सिधै घर पुग्ने गरेका छन् । मुख्य नाकामा परीक्षण गर्न खोजिए पनि हेल्थ डेस्क छलेर प्रवेश गर्नेहरू थुप्रै देखिन्छन् । खुला सीमा भएकाले जहाँसुकैबाट नेपाल छिर्नेको लर्को छ ।
संक्रमण पुष्टि भएका व्यक्तिहरूको कन्ट्याक्ट ट्रेसिङसमेत छैन ।मोरङ, सुनसरी, झापालगायतका सीमावर्ती क्षेत्रमा अव्यवस्थित रूपमा भारत आउजाउले संक्रमणको जोखिम झन् बढेको छ । विराटनगर जुटमिल दक्षिण, दरहैया, मटेरुवा तथा इस्लामपुरस्थित दशगजाबाट सुरक्षाकर्मीको अगाडिबाटै आउजाउ भइरहेको छ ।
किनमेलका लागि दिनहुँ हजारौं व्यक्ति भारतीय बजार जोगबनी र अन्य सहर आउजाउ गर्ने गरेको स्थानीय सुमन लामाले बताए । विराटनगरको बजार क्षेत्र र सार्वजनिक यातायातमा भौतिक दूरी कायम गर्ने, मास्क लगाउने, सेनिटाइज प्रयोग गर्नेजस्ता मापदण्डसमेत अपनाएको देखिन्न । विराटनगरस्थित रानी नाकाबाट वैशाख १ देखि बिहीबारसम्म १ सय ५ जना मात्र औपचारिक रूपमा प्रवेश गरेका छन् । जसमध्ये ९ जनामा संक्रमण पुष्टि भएको रानी नाका हेल्थ डेस्कका संयोजक डा। कमलकिशोर यादवले बताए ।
दरहैयास्थित रेडक्रस मोरङको हेल्थ डेस्कमा खटिएका सञ्जय कामतका अनुसार यहाँबाट दैनिक २ सय ५० देखि ३ सय जना भारतको दक्षिणी प्रान्तबाट आउने गरेका छन् । ‘हामी एक ठाउँ बसेका छौं, तर खुला सीमाको फाइदा उठाउँदै दशगजाबाट मानिस आउने–जाने गरिरहेका छन्,’ उनले भने । संक्रमण पुष्टि भएका व्यक्तिको कन्ट्याक्ट ट्रेसिङ पनि नभएकाले थप संक्रमणको जोखिम बढाएको छ । प्रदेश १ सरकारले कन्ट्याक्ट ट्रसिङ सुरु गर्न सकेको छैन । उद्योगी व्यवसायीले नै मापदण्ड नअपनाउने गरेकाले महानगरमा संक्रमणको भयावह अवस्था सिर्जना भइसकेको विराटनगर महानगरका स्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले बताए ।
संक्रमितको संख्या बढ्दै गएकाले बजार र सीमामा सतर्कता अपनाउनुपर्ने कोसी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट चुमनलाल दासले बताए । अहिलेकै अवस्था रहे वैशाख अन्त्यसम्म महानगरका साथै प्रदेशमा कोरोना संक्रमितको संख्या अत्यधिक बढ्ने उनको भनाइ छ । सामाजिक विकास मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीले आइतबार बसेको प्रदेशस्तरीय कोभिड क्राइसिस म्यानेजमेन्ट कमिटीको बैठकले इलामको पशुपतिनगर, झापाको भद्रपुर र काँकडभिट्टा, विराटनगरको रानी र सुनसरीको भन्टाबारी नाकाबाट मात्रै स्वास्थ्य परीक्षण गरेर भारतबाट प्रवेश गर्न दिने निर्णय भएको बताए ।
प्रतिक्रिया दिनुहोस