aarthiknews.com सोमबार, ०९ असार २०८२   Monday, 23 June, 2025
 

अक्सिजनको अभाव हुन नदिन निर्यातका लागि भन्सार छुटको माग

  • आजको आर्थिक अभियान दैनिकबाट
    आजको आर्थिक अभियान दैनिकबाट
  • आइतबार, १२ बैशाख २०७८
अक्सिजनको अभाव हुन नदिन निर्यातका लागि भन्सार छुटको माग

काठमाडौं । छिमेकी मुलुक भारतमा अक्सिजनको अभावका कारण ठूलो संख्यामा कोभिडका बिरामीले ज्यान गुमाइरहेका बेला नेपालमा त्यस्तै अवस्था आउन सक्ने आँकलन गर्दै सरकारले यसको जोहो गर्ने तयारी थालेको छ । 

स्वास्थ्य मन्त्रालयका अनुसार दैनिक २५ सयभन्दा बढी कोभिडका बिरामी थपिँदै गएको र अक्सिजनको अभाव हुने खतरा बढेपछि २० हजार थान अक्सिजन सिलिन्डर जोहो गर्न लागिएको हो । त्यस्ता सिलिन्डर निजी कम्पनीहरूलाई सहुलियतमा विदेशबाट किन्नका लागि सरकारले बाटो खुला गरिदिने भएको छ ।

अर्थ मन्त्रालयमा स्वास्थ्य मन्त्रालयले उक्त परिमाणको सिलिन्डर भित्र्याउन कर छूटको प्रस्ताव पठाएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले अक्सिजनको अभाव हुन नदिन निजीक्षेत्रबाटै सिलिन्डर किन्नका लागि आयातमा लाग्दै आएको भन्सार छूट दिन अर्थमा प्रस्ताव पठाइएको र छिट्ट निर्णय भएर आउने बताए । ‘अर्थबाट सकारात्मक जवाफ पाएका छौं, निर्णय भएर आउनेबित्तिकै निजीक्षेत्रले किन्न बाटो खुल्नेछ,’ उनले भने ।

व्यवसायीहरूले भने सिलिन्डर किन्न कठिन भएको बताएका छन् । उनीहरूका अनुसार चीन, भारतबाटै सिलिन्डर आउने हो, सिलिन्डर किन्र्न ती मुलुकमै महामारी कायमै छ । चीनबाट ल्याउन त्यति सहज छैन भने भारतमा सिलिन्डरको हाहाकार नै छ ।

अहिले नेपालभित्र करीब २ लाखको हाराहारीमा अक्सिजन सिलिन्डर रहेको व्यवसायीको अनुमान छ । एभरेष्ट अक्सिजनका सञ्चालकसमेत रहेका उद्योगी शिवप्रसाद घिमिरेका अनुसार कोभिड अघिसम्म कतिपय अस्पतालले माग नभएका कारण खर्चिलो अक्सिजन प्लान्ट चलाएका थिएनन् भने सिलिन्डरमा उपलब्ध गराउने उद्योगहरू पनि करीब ४० प्रतिशत सञ्चालनमा थिएनन् ।

तर, अहिले अस्पतालले पनि अक्सिजन प्लान्ट चलाउन थालिसकेका छन् र उद्योगहरू पनि पूर्णरूपमा सञ्चालनमा आउने क्रम छ । त्यसैले अक्सिजनको अभाव नहुने आकलन उनको छ । संक्रमणले उग्र रूप लिएमा भने अहिलेको सिलिन्डरले माग धान्न कठिन हुन सक्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस