
काठमाडौं । गत सातासम्म करिब ६६ अर्ब रुपैयाँ पुनर्कर्जा लगानी गर्न बाँकी रहेको देखिएको छ । चालु आर्थिक वर्षमा प्रवाह गर्न मिल्ने २ खर्ब १२ अर्ब ५० करोड रुपैयाँ पुनर्कर्जामध्ये करिब डेढ खर्ब रुपैयाँ लगानी भइसकेको छ । यसमा ६६ अर्ब रुपैयाँ बाँकी रहेको राष्ट्र बैंकले बताएको छ । गत सातासम्म १ खर्ब ४६ अर्ब ३२ करोड रुपैयाँ पुनर्कर्जा प्रवाह भएको छ ।
राष्ट्र बैंकले सीधै प्रवाह गर्न सक्ने (ग्राहक मूल्यांकनमा आधारित), बैंक तथा वित्तीय संस्था र लघुवित्त वित्तीय संस्थालाई एकमुष्ट प्रदान गरिने गरी हालसम्म उक्त पुनर्कर्जा प्रवाह भइसकेको राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले जानकारी दिए । यो पुनर्कर्जा ४८ हजार ८ सय ६५ जना ऋणीले लगेका हुन् । चालु आर्थिक वर्षमा राष्ट्र बैंकले थप ६६ अर्ब रुपैयाँ मात्र पुनर्कर्जा प्रवाह गर्न पाँउछ । ‘आर्थिक वर्ष सकिन अझै केही महिना बाँकी छ, पुनर्कर्जाको माग पनि धेरै छ,’ उनले भने, ‘बाँकी रकम पनि प्रवाह हुनेमा हामी आशावादी छौं ।’
पुनर्कर्जा कार्यविधिले राष्ट्र बैंकलाई पुनर्कर्जा कोषमा रहेको रकमको बढीमा ५ गुणासम्म कर्जा प्रवाह गर्न छुट दिएको छ । हाल पुनर्कर्जा कोषमा ४२ अर्ब ५० करोड रुपैयाँ छ । यसअनुसार राष्ट्र बैंकले २ खर्ब १२ अर्ब ५० करोड रुपैयाँ (पाँच गुणा) बराबर रकम पुनर्कर्जाका रूपमा प्रवाह गर्न पाउँछ । यसको ७० प्रतिशत (१ खर्ब ४८ अर्ब रुपैयाँ) बैंक तथा वित्तीय संस्थाले एकमुष्ट रूपमा पाउँछन् । २० प्रतिशतअन्तर्गत ४२ अर्ब ५० करोड रुपैयाँ राष्ट्र बैंकले ग्राहक पुनर्कर्जा शीर्षकमा खर्च गर्छ । बाँकी २१ अर्ब २५ करोड रुपैयाँ लघुवित्त वित्तीय संस्थाले एकमुष्ट रूपमा पाउँछन् र आफ्ना ग्राहकलाई कर्जा प्रवाह गर्छन् । यही व्यवस्थाअनुसार गत सातासम्म राष्ट्र बैंकले ४३ अर्ब ७१ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । यो राष्ट्र बैंकले प्रवाह गर्न पाउने सीमाभन्दा केही बढी हो । बैंक तथा वित्तीय संस्थाले अपेक्षित रूपमा कर्जा प्रवाह नभएपछि राष्ट्र बैंकले कार्यविधि परिमार्जन गरी गभर्नरको निर्णयअनुसार पुनर्कर्जाको निर्णय गर्न सक्ने व्यवस्था गरेको छ । सोही व्यवस्थाअनुसार राष्ट्र बैंकले सीधै पुनर्कर्जा प्रवाह गरिरहेको बताइएको छ ।
बैंक तथा वित्तीय संस्थाले भने ९२ अर्ब ३८ करोड रुपैयाँ पुनर्कर्जा प्रवाह गरेका छन् । यो उनीहरूले प्रवाह गर्न पाउने अधिकतम सीमाभन्दा कम हो । कार्यविधिअनुसार बैंक तथा वित्तीय संस्थाले एकमुष्ट रूपमा १ खर्ब ४८ अर्ब रुपैयाँ पुनर्कर्जा प्रवाह गर्न पाउँछन् । गत सातासम्म लघुवित्त वित्तीय संस्थाले १० अर्ब २३ करोड रुपैयाँ पुनर्कर्जा प्रवाह गरेका छन् । यो पनि उनीहरूले प्रवाह गर्न पाउने अधिकतम सीमाभन्दा कम हो । कार्यविधिअनुसार लघुवित्त वित्तीय संस्थाले २१ अर्ब २५ करोड रुपैयाँ पुनर्कर्जा प्रवाह गर्न पाउँछन् ।
पुनर्कर्जा सबैभन्दा धेरै प्राप्त गर्नेमा कोभिड–१९ बाट बढी प्रभावित होटल र पर्यटन क्षेत्र अघि देखिएका छन् । ग्राहक ऋणीअन्तर्गत ग्राहक मूल्यांकनका आधारमा राष्ट्र बैंकमार्फत प्रवाह हुने उक्त कर्जामा ती क्षेत्रले सबैभन्दा धेरै कर्जा प्राप्त गरेको देखिएको हो । गत सातासम्म राष्ट्र बैंकले प्रवाह गर्ने ग्राहक ऋणी पुनर्कर्जाअन्तर्गत सबैभन्दा धेरै कर्जा सुविधा होटलले पाएका छन् । गत सातासम्म यो पुनर्कर्जाअन्तर्गत ४३ अर्ब ७१ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ । यसमध्ये १९ अर्ब ८८ करोड रुपैयाँ बराबरको पुनर्कर्जा होटलले प्राप्त गरेका छन् । यो राष्ट्र बैंकले प्रवाह गरेको कुल ग्राहक ऋणी पुनर्कर्जाको ४५।४९ प्रतिशत हो । धेरै पुनर्कर्जा लिनेमध्ये दोस्रोमा म्यानुफ्याक्चरिङ, तेस्रोमा निर्माण, चौथोमा स्वास्थ्य तथा औषधि र पाँचौंमा शिक्षा क्षेत्र छ ।
पुनर्कर्जा सुविधाका लागि कार्यविधिमा तोकिएका मापदण्ड पूरा गर्नुपर्छ । मापदण्ड पूरा गर्न कोभिडबाट अति र मध्यम स्तरको पीडित हुनैपर्छ । होटल र पर्यटन क्षेत्र बढी भएकै कारण ती क्षेत्रका ऋणीले धेरै कर्जा सुविधा पाएको हुन सक्ने राष्ट्र बैंकले जनाएको छ । कार्यविधिअनुसार ग्राहकले लघु घरेलु तथा साना उद्यम, विशेष र साधारण गरी तीन प्रकारका पुनर्कर्जा पाउँछन् । यसअघि नै बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएका ऋणीले पाउने कर्जा नै पुनर्कर्जा हो । ती कर्जामा ग्राहकले ३ देखि ५ प्रतिशत मात्र ब्याज भुक्तानी गरे पुग्छ । बैंक तथा वित्तीय संस्थाले प्रतिव्यक्ति बढीमा ५ करोड रुपैयाँ मात्र पुनर्कर्जा प्रवाह गर्न पाउँछन् ।
कार्यविधिअनुसार वार्षिक औसत २० प्रतिशतभन्दा बढी सेयरधनीको प्रतिफल ९आरओई० आर्जन गर्ने उद्योगले पुनर्कर्जा सुविधा नपाउने व्यवस्था छ । उद्योग सञ्चालन अवस्था राम्रो रहेको, पछिल्लो तीन वर्षको मुनाफा हेर्दा औसत प्रतिवर्ष पुँजीमा प्रतिफल २० प्रतिशतभन्दा बढी रहेका उद्योग व्यवसायले पुनर्कर्जा सुविधा नपाउने व्यवस्था छ । यस्तै चुरोट, बिँडी, सिगार, सुर्ती, खैनी र
गुट्खा लगायत सुर्तीजन्य उद्योग व्यवसाय र मदिरा तथा मदिराजन्य उद्योग व्यवसायलाई प्रवाह भएका कर्जामा पनि पुनर्कर्जा सुविधा छैन । कुनै उद्यमका लागि नभई व्यक्तिगत प्रयोजनका लागि प्रवाह भएको ओभरड्राफ्ट कर्जा, घरजग्गा कर्जा, सवारी कर्जा, घरायसी सामग्री कर्जा, मार्जिन कर्जा, सुनचाँदी कर्जा, सामाजिक कर्जा तथा व्यक्तिगत नाममा वा व्यक्तिगत उपभोगका लागि लिइएका कर्जाले पुनर्कर्जा सुविधा पाउँदैनन् । ब्याज अनुदान प्राप्त सहुलियतपूर्ण कर्जालगायतका अन्य अनुदान प्राप्त कर्जा पाएका ऋणीले पनि यो सुविधा नपाउने प्रावधान छ ।
प्रतिक्रिया दिनुहोस