aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

नेताले मापदण्ड नमानेपछि स्वास्थ्य मन्त्रालयले माग्यो जनतासँग गुहार

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १२ बैशाख २०७८
नेताले मापदण्ड नमानेपछि स्वास्थ्य मन्त्रालयले माग्यो जनतासँग गुहार

काठमाडौं । स्वास्थ्य मन्त्रालयको लगातारको खबरदारीलाई बेवास्ता गर्दै सरकारका उच्च पदस्थ व्यक्ति तथा निकायहरुले नै स्वास्थ्य मापदण्डको उल्लङघन गरेपछि मन्त्रालयले आम मानिसहरुसंग गुहार मागेको छ । 

आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जारी गरेको सूचनामा यस्तो अपिल गरिएको हो । प्रधानमन्त्री लगाउत सरकारीका मन्त्री तथा राजनितिक दलका नेताहरुले कोरोना महामारी रोकथामका लागि गरिएको प्रयत्न र जारी गरिएको मापदण्डलाई पुर्ण रुपमा बेवास्ता गर्दै गतिविधि सञ्चालन गरेपछि मन्त्रालयद्धारा जारी विज्ञप्तीमा लेखिएको छ– समाजका अगुवाहरुको क्रियाकलापहरुलाई सबैले अनुसरण समेत गर्ने भएकाले सबै व्यक्तिलाई सामाजिक उत्तरदायित्व निर्वाह गरी संवेदनशील बनिदिनुहुन, सार्वजनिक समारोहहरु र सार्वजनिक स्थलमा कार्यक्रमहरु नगर्न/नगराउन/सहभागी नवनिदिनहुन मन्त्रालय अनुरोध गर्दछ । त्यस्ता व्यक्ति निकायहरुबाट त्यस किसिमका गतिविधिहरु भएमा खबरदारीसहित कारवाहीको दायरामा ल्याईदिनु हुन सरोकारवाला सबै निकाय तथा व्यक्तिहरुमा अनुरोध गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालय यो सार्वजनिक सूचना जारी गर्दछ । 

त्यसैगरि, सूचनामा अगाडि छ– विश्वव्यापी महामारीको रुपमा रहेको कोभिड १९ ले हाल छिमेकी देशहरुमा स्वास्थ्य सेवा प्रवाह प्रणाली समेत तहसनहस पारी नियमित स्वास्थ्य सेवा उपलब्ध गराउन र कोभिड १९ को संक्रमितहरुलाई अस्पतालमा राखेर हेरचार गर्न नसकिएको हृदयविदारक घटना हामै आँखा अगाडि देखिरहेका छौं । यो महामारीले हामै देशका विभिन्न स्थानहरुका समेत उस्तै किसिमका दुःखद अवस्था आईसकेको देख्दादेख्दै पनि हामी सबैले संक्रमण रोकथाम गर्न सक्ने भूमिकाहरुको निर्वाह गरेका छैनौं । अहिलेको संक्रमण सबै वर्ग र उमेर समूहका लागि अत्यन्त जोखिमपूर्ण छ र हालसम्म कोभिडको उपचार गर्नसक्ने कुनै पनि औषधि वा उपाय चिकित्सा विज्ञानले विकास गर्न सकेको छैन । आज जुन दुःखद दृश्य स्वास्थ्यकर्मीहरुले दैनिक रुपमा देखिरहेका छन् त्यो कसैको पनि परिबार बा आफन्तमा नघटोस् भन्नका लागि हामी सबैले संक्रमणको फैलावटलाई रोक्ने गरी जिम्मेवार बन्न र वनाउन अत्यावश्यक छ । संक्रमण रोकथामको लागि नेपाल सरकारले तोकेका मापदण्डहरु निर्विकल्प उपाय हुन् । संक्रमणको चक्रलाई रोक्न सकिएन र यही गतिमा फैलदै गएमा केही दिनमै अस्पतालमा विरामी राख्ने ठाँउसम्म हुने छैन ।
 

प्रतिक्रिया दिनुहोस