aarthiknews.com सोमबार, ०९ असार २०८२   Monday, 23 June, 2025
 

वैदेशिक रोजगारी खुम्चियो, बेरोजगारी भयावह बन्न सक्ने

  • आजको अन्नपूर्ण पोस्ट् दैनिकबाट
    आजको अन्नपूर्ण पोस्ट् दैनिकबाट
  • सोमबार, १३ बैशाख २०७८
वैदेशिक रोजगारी खुम्चियो, बेरोजगारी भयावह बन्न सक्ने

काठमाडौं । विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसले वैदेशिक रोजगारी खुम्चिएको छ। कोरोनापछि चार गुणाले वैदेशिक रोजगारी खुम्चिँदा बेरोजगारी भयावह बन्ने देखिएको छ। श्रमविज्ञ डा।गणेश गुरुङले रोजगारी सिर्जना हुन नसकिरहेकाले वैदेशिक रोजगारी खुम्चिँदा अवस्था भयावह बन्ने बताए। कोरोनापछि भारतसहित वैदेशिक रोजगारीबाट १० लाख श्रमिक फर्किएका छन्। नेपालबाट ७ लाखभन्दा बढी भारतीय कामदार कोरोना पछि काममा फर्किएका छैनन्। कोरोनापछि भारतीय कामदार नफर्र्किएकाले तत्काल उनीहरूको ठाउँमा नेपालीलाई अवसर दिनुपर्ने भए पनि त्यसो हुन सकेको छैन। 

वैदेशिक रोजगार विभागका अनुसार कोरोनापछि (चैत्र २०७६ देखि चैत्र २०७७ सम्म) १ लाख ३ हजार ३५ जना नेपाली वैदेशिक रोजगारीमा गएका छन्। यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा करिब चार गुणाले कम हो। त्यसअघि गत वर्षको सोही अवधिमा ९चैत्र २०७५ देखि चैत्र २०७६ सम्म० वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या ३ लाख ६८ हजार थियो। कोरोनाले गर्दा पछिल्लो समयमा कम्पनीले विदेशी श्रमिक ल्याउन रोक लगाइरहेका छन्। श्रमिक चाहिए पनि असहज परिस्थितिका कारण श्रमिक माग गर्न सकिरहेका छैनन्। कोरोनाको दोस्रो लहर सुरु भएसँगै नेपालसहित गन्तव्य मुलुकमा पनि थप चिन्ता बढाएको छ।  विभागका अनुसार कोरोनायता दैनिक पाँच सय कामदार वैदेशिक रोजगारीमा गइरहेका छन्। कोरोनाअघि दैनिक एक हजार पाँच सयभन्दा बढी कामदार दैनिक वैदेशिक रोजगारीमा जाने गरेका थिए। 

वैदेशिक रोजगार व्यवसायी संघका महासचिव सुजितकुमार श्रेष्ठले कोरोनाले वैदेशिक रोजगार प्रभावित भएको बताए। ‘गन्तव्य मुलुकमा कोरोनाको जोखिम कायमै रहेकाले वैदेशिक रोजगारीमा अन्योलता बढाएको छ’, उनले भने। कोरोनाको दोस्रो लहर सुरु भएसँगै व्यवसायी थप चिन्तित भएका छन्।  कोरोनाले कतार, साउदी अरब, दुबई, ओमन, मलेसिया तथा युरोपेली मुलुक प्रभावित हुँदै आएका छन्। जापान, इजरायल र दक्षिण कोरियाले श्रमिक लगेका छैनन्। 
गन्तव्य मुलुकमा कोरोनाको जोखिम कायमै रहेकै अवस्थामा दोस्रो लहरको आतंक बढेपछि वैदेशिक रोजगार तहसनहस बन्न पुगेको छ।

कोरोनाको जोखिम बढेसँगै गन्तव्य मुलुकबाट रोजगारी गुमाएर फर्कने क्रम बढेको छ। कोरोना नियन्त्रण व्यवस्थापन समितिका अनुसार कोरोनाका कारण असहज परिस्थितिमा विदेशमा अलपत्र परेका ४ लाख ३६ हजार ४ सय ६६ जना स्वदेश फर्किएका छन्। गन्तव्य मुलुकबाट रोजगारी गुमाएर फर्किने अधिक, वैदेशिक रोजगारीमा जाने न्यून तथा स्वदेशमा पर्याप्त रोजगारी सिर्जना हुन नसक्दा बेरोजगारको विकराल स्थिति देखिएको छ।  

प्रतिक्रिया दिनुहोस