aarthiknews.com सोमबार, ०९ असार २०८२   Monday, 23 June, 2025
 

क्षमता बढाउँदै स्वदेशी मास्क उद्योग

  • आजको कान्तिपुर दैनिकबाट
    आजको कान्तिपुर दैनिकबाट
  • मंगलबार, १४ बैशाख २०७८
क्षमता बढाउँदै स्वदेशी मास्क उद्योग

काठमाडौं ।  सर्जिकल मास्कको माग बढेपछि स्वदेशी उद्योगहरूले आफ्नो उत्पादन क्षमता बढाइरहेका छन् । कोभिड–१९ को दोस्रो लहर तीव्र बनेसँगै बजारमा फेस मास्कको माग बढेकाले उद्योगहरूले उत्पादन बढाउन लागेका हुन् ।

बज्र ग्रुपअन्तर्गतको बज्र हेल्थ एन्ड केयर प्रालिले ललितपुरको ढोलाहिटीबाट चार महिनादेखि ‘बज्र मास्क’ उत्पादन गरिरहेको छ । कम्पनीले अबको १र२ दिनमा उत्पादन क्षमता बढाएर दैनिक एक लाख ७५ हजार थान सर्जिकल मास्क बनाउने तयारी गरिरहेको छ । मास्क उत्पादनका लागि अहिलेसम्म ५० करोड रुपैयाँ लगानी भइसकेको उद्योगका सञ्चालक प्रकाश बज्राचार्यले बताए ।

एउटा म्यानुअल मेसिनको पूर्ण क्षमता ७५ हजार थान भए पनि उद्योगले अहिले दैनिक ५०–६० हजार थान मात्र सर्जिकल मास्क बनाइरहेको छ । ‘१र२ दिनमा नयाँ अटोमेटिक मेसिन जडान गर्दै छौं,’ उनले भने, ‘यसको उत्पादन क्षमता १ लाख थान छ । यसपछि भने दुवै मेसिनबाट दैनिक १ लाख ७५ हजार थान मास्क बनाउँछौं ।’ कोभिड–१९ को दोस्रो लहर बढेसँगै तराईका जिल्लाबाट सर्जिकल मास्कको माग भइरहेको उनले सुनाए । वीरगन्ज, भैरहवा, बुटवललगायत कोभिडका संक्रमित धेरै देखिएका ठाउँबाट मास्कको धेरै माग भएको उनले सुनाए ।

‘कोभिड सुरु हुनुभन्दा पहिला नै मास्क उद्योग चलाउने सोच थियो,’ उनले भने, ‘यसैबीचमा लकडाउन भयो । चीनबाट मेसिन मगाएका थियौं । त्यो आउन सकेन । कच्चा पदार्थ भए पनि बनाउन नसकेपछि २०७७ माघदेखि मास्क बनाउने काम सुरु गरेका हौं ।’ मेल्टब्लोन फिल्टर पेपर प्रयोग गरेर तीन तहको सर्जिकल मास्क बनाइरहेको बज्र उद्योगले ६ जनालाई रोजगारीसमेत दिएको छ ।

५० थान भएको एउटा प्याकको २ सय ५० रुपैयाँमा खुद्रा बिक्रेतालाई उपलब्ध गराइने उद्योगका बजार प्रमुख समीर ढुंगानाले जानकारी दिए । ‘बाहिर खुद्रामा किन्दा उपभोक्तालाई १० रुपैयाँ पर्छ,’ उनले भने, ‘हामीले उत्पादन गरेको मास्कको गुणस्तर राम्रो भएकाले यहाँकै बजारबाट माग धेरै नै आइरहेको छ ।’

काठमाडौंको बाफलस्थित बजरंग अल साइट सप प्रालिले पनि ‘दीर्घायु मास्क’ उत्पादन गरिरहेको छ । २०७७ असारदेखि सुरु भएको यो कम्पनीले केएन ९५ मास्क मात्र उत्पादन गरिरहेको छ । उद्योगमा निश्चल अग्रवाल र दीपक खनालको डेढ करोड रुपैयाँ लगानी छ । 

प्रतिक्रिया दिनुहोस