
काठमाडौं । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तेस्रो मुलुक प्रस्थान गर्ने उद्देश्यले नेपाल आउन र उक्त विमानस्थललाई परागमनको रूपमा प्रयोग गरी अन्य गन्तव्यतर्फ यात्रा गर्न रोक लगाएको छ ।
नयाँ प्रकारको कोभिड–१९ को बढ्दो जोखिमलाई दृष्टिगत गरी यही वैशाख १५ गते मध्यरातदेखि लागू हुने गरी उक्त विमानस्थलबाट अन्य गन्तव्यतर्फ यात्रा गर्न रोक लगाइएको अध्यागमन विभागले जनाएको छ ।
त्रिभुवन विमानस्थललाई अन्तिम गन्तव्य बनाएर विदेशबाट आउन तथा उक्त विमानस्थलबाट विदेश जान पाउने व्यवस्थामा भने कुनै फेरबदल नगरिएको पनि उक्त विभागले जनाएको छ ।
नागरिक उड्डयन प्राधिकरणका प्रबन्ध निर्देशक प्रताप तिवारीले ट्रान्जिटका रूपमा त्रिभुवन विमानस्थल प्रयोग गर्दै आएका यात्रुहरुलाई रोक लगाइएको बताए । उनले भने, ‘विदेशबाट नेपालको विमानस्थल हुँदै तेस्रो मुलुक जाने यात्रुहरुलाई हाल रोक लगाइएको छ । भारतबाट नेपाल आउने यात्रुहरूका बारेमा भने थप निर्णय हुनेछ ।’
नेपालबाट विदेश जाने यात्रुहरूका लागि भने अहिलेसम्म कुनै निर्णय नभएको तिवारीले बताए ।
प्रतिक्रिया दिनुहोस