aarthiknews.com शुक्रबार, ०६ असार २०८२   Friday, 20 June, 2025
 

अस्पतालले झुक्काएका कारण अक्सिजन अभाव हुन सक्छः उद्योगी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १४ बैशाख २०७८
अस्पतालले झुक्काएका कारण अक्सिजन अभाव हुन सक्छः उद्योगी

काठमाडौं । अक्सिजनको अभावका कारण कोरोना सङ्क्रमितको ज्यान जान सक्ने त्रास बढिरहेको बेला अक्सिजन उत्पादकहरूले भने त्यस्तो अवस्था आएमा अस्पतालहरूलाई नै दोषी करार गरिनु पर्ने बताएका छन् । कतिपय अस्पतालहरूले आफै अक्सिजन ग्यास उत्पादन गर्ने प्लान्ट राख्ने कुरा गरेर उद्योगीलाई झुकाएको उनीहरूको आरोप छ ।

कान्तिपुर अक्सिजन लिमिटेडका प्रबन्धक कुमार चुडेलले पर्याप्त अक्सिजन उत्पादन गर्ने क्षमता नेपालका उद्योगहरूको रहेको बताए । तर, ग्यासको अभाव हुनसक्ने र त्यसले भयावह स्थिति सिर्जना हुनसक्ने आकलन आफूहरूले पहिले नै गरेको बताउँदै उनले भने, “हामीले अक्सिजन भर्ने सिलिन्डर थप गर्ने योजना बनाएका थियौ । तर, अस्पतालहरूले आफै प्लान्ट राख्ने तयारी गरेको सुनाए ।” 

चुडालको खास चित्त दुखाई के छ भने 'अस्पतालले न हामीलाई बेलैमा सिलिन्डरको जोहो गर्न उत्प्रेरित गरे न त आफै प्लान्ट बनाए'। 'अहिले हामीसँग सिलिन्डरको अभाव छ', उनले भने, 'काठमाडौं उपत्यकामा रहेका अक्सिजनका ठुला खपतकर्ता मध्येका अस्पतालहरू सिभिल, वीर, कान्ति बाल र गङ्गालालले आफै प्लान्ट राख्ने घोषणा गरेको तर अहिले भने अहिले भने अक्सिजन चाहियो भनिरहेको अवस्था छ ।'

नेपालभर अहिले करिब २६ वटा उद्योगले अक्सिजन उत्पादन गरिरहेकोमा ८ वटा काठमाडौं उपत्यकामा नै रहेका छन् । यदि पर्याप्त सिलिन्डर हुने हो भने नेपालमा अक्सिजन ग्यासको अभाव हुन नदिने गरी उत्पादन गर्न सक्ने ग्यास उद्योगीहरूको दाबी छ । तर, सर्वसाधारणले घरमा नै सिलिन्डर होल्ड गरेका कारण पर्याप्त ग्यास उत्पादन गरेर भर्न नपाएको उनीहरू बताउँछन् । 

नेपालबाट भारत ग्यास निकासी भएका कारण तराईका केही सहरमा अक्सिजनको अभाव भएको भन्ने कुरा खण्डन गर्दै चुडेलले उल्टै प्रश्न गरे, 'ग्यास सिलिन्डर गोजीमा हालेर उता पुर्‍याउन सकिन्छ र ? त्यो सब वाहियात हल्ला हो खासमा सिलिन्डर नै कम छन्, ति पनि सबका घरघरमा थन्किएर बसेका छन्।'

सरकारले सिलिन्डर आयातमा सहजता गरिदिए अझै पनि अक्सिजनको अभाव हुने वातावरण आउन नदिने उनीहरू विश्वस्त देखिन्छन्।  

प्रतिक्रिया दिनुहोस