aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

१० वर्षमा तीन हजार किलोमिटर रेलमार्ग बन्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १४ असार २०७६
१० वर्षमा तीन हजार किलोमिटर रेलमार्ग बन्ने

काठमाडौं । सरकारले आगामी एक दसकमा झन्डै तीन हजार किलोमिटर रेलमार्ग निर्माण गरी देशका प्रमुख सहरलाई जोड्ने योजना अगाडि सारेको छ । राष्ट्रिय सभा अन्तर्गतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिकोे बैठकमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले रेलको भावी योजनाबारे विस्तृतमा जानकारी दिनुभयो । 

मन्त्री महासेठका अनुसार सरकारले १० वर्षभित्र दुई हजार आठ सय किलोमिटर रेलमार्गद्वारा देशको प्रमुख सहरी भूभाग विद्युतीय रेल सेवाले जोड्ने लक्ष्य लिएको छ । उहाँले पूर्वपश्चिम रेलमार्गको ९४५ किलोमिटर डीपीआर तयार भइसकेको जानकारी दिनुभयो ।

त्यसै क्रममा बर्दिवास–निजगढको दुई सय किलोमिटरमध्ये ३५ किलोमिटरभन्दा बढीको ट्र्याक खोलिसकिएको र पुलहरूसमेत बनिसकेको जानकारी गराउनुभयो । समितिमा सांसदले उठाउनुभएका प्रश्नको जवाफमा मन्त्री महासेठले सो जानकारी दिनुभयो । 

यसैगरी मन्त्री महासेठले नौबिसे–नागढुङ्गा सुरुङमार्ग निर्माणका लागि आवश्यक सबै प्रक्रिया सकिएको र निर्माण कम्पनीसँग सम्झौता गर्न मात्र बाँकी रहेको बताउनुभयो । उहाँले सो आयोजना जापान सरकारको ऋण सहयोगमा बन्न लागेको र निर्माणको जिम्मा पनि जापानी निर्माण व्यवसायीलाई दिइने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “यसको अन्तिम टुङ्गो लगाउन भने बाँकी नै छ । ” 

यस्तै मन्त्री महासेठले टोखा–खहरे–गुर्जुभञ्ज्याङको काम अगाडि बढेको बताउनुभयो । उहाँले भन्नुभयो, “टोखा–खहरे सुरुङमार्गको सम्भाव्यता र विस्तृत परियोजना प्रतिवेदन तयार गर्न परामर्शदाताहरूको छनोट प्रक्रिया सुरु गरिसकिएको छ ।” यसका लागि बजेट छुट्याइएको र आर्थिक वर्ष २०७६/७७ मा विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार हुने जानकारी गराउनुभयो । 

अरनिको राजमार्गको कोटेश्वर–जडीबुटी खण्डमा अन्डरपास र कभर्ड अन्डरपास गरेर ललितपुर, भक्तपुर र काठमाडौंँ तीनकुनेतिरबाट आउने÷जाने गरी कभर्ड अन्डरपास बनाउन जाइकालाई प्रस्ताव गरिएको उहाँले जानकारी गराउनुभयो । उहाँले भक्तपुरतर्फबाट आउने सवारी साधनलाई मनोहरा पुलबाट डाइभर्सन बनाइसकिएको, बेलिब्रिज जडान भइरहेको र केही दिनमा तयार हुनेछ भन्नुभयो । 

बीपी लोकमार्ग खुर्कोट चियाबारीको प्रगतिका सम्बन्धमा स्पष्ट पार्दै मन्त्री महासेठले बजेट व्यवस्थापन गरिसकेको र द्रुत गतिमा काम अगाडि बढाउँदै गरेको जानकारी गराउनुभयो । बीपीनगर–खुटिया–दिपायल खण्डको सुरुङमार्ग अध्ययन र डीपीआरका लागि बजेट छुट्याइएको जानकारी उहाँले दिनुभयो । 

गणेशमान सिंह मार्ग थानकोट–चित्लाङ खण्डमा सर्भेक्षण गरी सुरुङमार्ग निर्माण गर्ने सम्बन्धमा रातो किताबमा आइसकेको र त्यसको सम्भाव्यता अध्ययन र डीपीआर यसै वर्ष सुरु हुने उहाँले बताउनुभयो । उत्तर–दक्षिण नदी करिडोरको भौतिक प्रगति भइरहेको छ । अधिकांश कोरिडोरको ट्र्याक खोल्ने काम दु्रत गतिमा अगाडि बढेको जानकारी उहाँले गराउनुभयो । 

कर्णाली करिडोरको कुल लम्बाइ २९५ किलोमिटरमध्ये २२० किलोमिटर सडकको ट्र्याक खुलेको उहाँले जानकारी दिनुभयो । त्यसैगरी कोसी कोरिडोरको १६२ किलोमिटरमध्ये १४८ किलोमिटरको र कालीगण्डकी करिडोरको १४५ किलोमिटर नै ट्र्याक खुलिसकेको जानकारी गराउनुभयो । बेनी–जोमसोम कोरला खण्डको १८६ किलोमिटरमध्ये १७१ किलोमिटर ट्र्याक खोलिएको र आगामी आर्थिक वर्षसम्म यसको कालोपत्रेको काम सम्पन्न गर्ने लक्ष्य लिएको स्पष्ट पार्दै उहाँले थप्नुभयो, “सबै कोरिडोरको ट्र्याक खोल्ने र पुल निर्माण सम्पन्न भएपछि कालोपत्रे गर्नेछौँ । ” 

मन्त्री महासेठले पूर्व–पश्चिम राजमार्गको साँघुरो सडकलाई विस्तार गर्ने कार्य सुरु भएको छ भन्दै पहिलो चरणमा बुटबल–नारायणघाट सडक खण्डलाई चौडा पार्ने काम थालिसकेको बताउनुभयो । मन्त्री महासेठले २५ वर्षदेखि कायम सिन्डिकेट अन्त्य भएको बताउनुभयो । उहाँले भन्नुभयो, “सङ्घ समितिको आधिपत्य थियो, रुट परमिट पनि सरकारले दिन सक्ने अवस्था थिएन । अब तोडियो ।” गोरखापत्र दैनिकमा समाचार छ । 

प्रतिक्रिया दिनुहोस