
एजेन्सी । अघिल्लो साता टेस्लाका मालिक एलन मक्सले अनौठो अभिव्यक्ति दिए । मंगलग्रहमा मानिसको बस्ती बसाउने महत्त्वाकाङ्क्षी परियोजना सञ्चालन गरिरहेका मक्सले सो ग्रहको यात्रामा जाने पहिलो लटका मानिसहरू नफर्कन सक्ने जिकिर बताएपछि यसबारे फेरि चर्चा चुलिएको छ ।
मक्सले अघिल्लो हप्ता अमेरिकाको फ्लोरिडामा आयोजित एक कार्यक्रममा भनेका छन्– पहिलो चरणमा जाने मानिसहरूको एउटा समूह सायद उतै मर्नेछन् । तर, त्यो यात्रा कठिन, साहसिक र रोमाञ्चक हुनेछ ।
पृथ्वीमा उत्सर्जन भएको कार्बन घटाएर यो धर्तीलाई मानवका लागि बसोबास गर्ने उपयुक्त राखिराख्ने उद्देश्यमा खर्च गर्न एक सय मिलियन डलर सहयोग गर्ने उनले सो कार्यक्रममा घोषणा गरेका थिए । सो कार्यक्रममा मानिसहरूले मंगल ग्रहमा बसोबास गराउने सम्बन्धी प्रश्न सोधेपछि उनले यस्तो सम्भावना व्यक्त गरेका हुन् ।
रातो ग्रहमा धनी मानिसहरू मात्रै पुग्ने अवस्था आउन नदिने बताउँदै मक्सले त्यस तर्फको यात्रा असहज मात्र हुने होइन की राम्रो खानाको अभाव र अरू धेरै समस्यासमेत सिर्जना हुनसक्ने कुरा स्वीकार गरे । उनले सुरुको यात्राका लागि मानिसहरूलाई कर गर्न नसकिने तर स्व स्फूर्त रूपमा त्यता जान इच्छुक मानिसहरूको अभाव पनि नहुने विश्वास व्यक्त गरे ।
प्रतिक्रिया दिनुहोस