aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

यिनै हुन्, गृहका प्रवक्तालाई नियम सिकाउँदै कारवाही गर्ने ट्राफिक प्रहरी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १४ असार २०७६
यिनै हुन्, गृहका प्रवक्तालाई नियम सिकाउँदै कारवाही गर्ने ट्राफिक प्रहरी

काठमाडौं । गृह मन्त्रालयका प्रवक्ताको गाडीमाथि कारवाही गर्ने ट्राफिक प्रहरीलाई सम्मान गरिएको छ । ह्वील लक गर्दै एक हजार रुपैयाँ जरिवाना काट्ने ट्राफिक प्रहरी र प्रहरी जवानलाई विभिन्न संघ संस्थामा आवद्ध युवाहरुले सम्मान गरेका हुन् । 

सरकार उच्च निकायका अधिकारी सानो गुनासो त गर्ने हिम्मत हुँदैन् । तर ति ट्राफिक प्रहरीले त कारवाही नै गरेर देखाइदिए । कारवाही गर्दै गृहका प्रवक्ता रामकृष्ण सुवेदीलाई आफैंले बनाएको नियमको पालना गर्न समेत सुझाए । तिनै गृह मन्त्रालयका प्रवक्ताको गाडीमाथि कारवाही गर्ने ट्राफिक प्रहरीलाई विभिन्न संघ संस्थाले सम्मान गरेका हुन् ।  

प्रवक्ता सुवेदी चढ्दै आएको बा२झ ४३८८ नम्बरको गाडीमा ट्राफिक प्रहरीले ह्वील लक गरेका थिए । त्यस्तै, अर्को बा२झ ३४६ नम्बरको सरकारी गाडीमा समेत ट्राफिक प्रहरीले लक गरेका थिए । महानगरीय ट्राफिक प्रहरी प्रभाग अनामनगरबाट खटिएका ट्राफिक प्रहरी टिकाराम बुढा र जवान कमलेश कुमारलाई सम्मान गरिएको हो ।  

प्रवक्ता सुवेदी गाडी सडक किनारमा पार्किङ गरेर खाना खान गएका थिए । ट्राफिक प्रहरीले गाडी लक गरेको थाहा पाएपछि आफ्ना चालकसहित गाडी भएको स्थानमा आएर ट्राफिकलाई ‘म गृह मन्त्रालयको प्रवक्ता हुँ’ भन्दै चिट नकाट्न अनुरोध गरेका थिए । तर उनले गाडी लक गर्नुका साथै एक हजारको चिट काटेका थिए । 


 

प्रतिक्रिया दिनुहोस