
"तथ्याङ्कले हामी मध्ये धेरैले सोचेको कुरा पुष्टि गर्छ कि - खोपले कोभिडको सङ्क्रमण रोक्ने मात्र होइन कि खोप लगाएकाहरूबाट अरू सङ्क्रमित हुन सक्ने सम्भावना एकदमै कम बनाउँछ। खोप लगाइएका व्यक्तिहरू भाइरस फैलाउन सक्षम छैनन् भन्ने तथ्यले देखाएको छ ।" अमेरिकी स्वास्थ्य सुरक्षा केन्द्रका वरिष्ठ विद्वान अमेश अडाल्जाको भनाइको रूपमा जोन्स हपकिन्स स्कुल अफ पब्लिक हेल्थ वेबसाइटमा यस्तो पोस्ट गरिएको छ।
तर, स्वास्थ्य अधिकारी तथा सरकारका सरोकारवाला निकायले अझैसम्मपनि खोप लगाएका व्यक्तिहरूले पनि अन्य सर्वसाधारण झैँ स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने र उनीहरूबाट सङ्क्रमण सर्न सक्ने वा स्वयम् आफैँ पनि सङ्क्रमित हुनसक्ने भन्दै आएको छ। खोप लगाएकाहरूलाई पनि अन्य झैँ प्रतिबन्ध लगाइएको छ।
यो विरोधाभास किन ? यसको जवाफ खोज्ने क्रममा सबै स्वास्थ्य अधिकारीहरूको भनाई यो छ कि खोप लगाइएको व्यक्तिहरू अझै पनि सङ्क्रमित हुन सक्छन्। उनीहरूले आफैलाई र अरूलाई जोखिममा पार्न सक्छन्। उनीहरूलाई हालसम्म यो थाहा छैन कि खोपको प्रतिरोध क्षमता कहिले निर्माण गर्छ वा कसरी खोपले भाइरसको नयाँ रूपहरूमा काम काम गर्छ।
अमेरिकामा भएका घटनाहरू मात्र हेर्ने हो भने खोपको शायद अर्थ छैन। केही दिन अघि त्यहाँका राष्ट्रपति जो वाइडेनले संसद्मा पहिलो सम्बोधन गर्दा लगभग आधा सिटहरू खाली थिए। किन ? किनकि उनीहरूले खोप लगाए पनि सङ्क्रमणबाट बचिन्छ भन्नेमा विश्वास गरेनन् र त्यहाँ गएनन्। राष्ट्रपति स्वयम् पनि मास्क लगाएर मात्र हिँड्छन् जसको अर्थ पनि यो हो कि उनले पनि खोप माथि विश्वास गरेका छैनन्।
त्यसो भए, खोप किन लगाउने ? अनि यस्तो महामारीमा बल्लतल्ल प्राप्त भएको खोप किन नलगाउने ? यो दोधारमा आम मानिसलाई राख्नु हुँदैन। यदि काम गर्दैन भने खोप किन्ने नाममा खर्च नबढाऊँ। काम गर्छ भने जतिसक्दो चाँडो खोप ल्याएर सबैले लगाऊँ।
प्रतिक्रिया दिनुहोस