aarthiknews.com शुक्रबार, ०६ असार २०८२   Friday, 20 June, 2025
 

आइतबारबाट थप कडाई : वित्तीय संस्थाका कर्मचारी समेत घटाइने, पशुपति क्षेत्रमा शव जलाउने व्यवस्था मिलाउन अनुरोध

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १८ बैशाख २०७८
आइतबारबाट थप कडाई : वित्तीय संस्थाका कर्मचारी समेत घटाइने, पशुपति क्षेत्रमा शव जलाउने व्यवस्था मिलाउन अनुरोध

काठमाडौँ।  उपत्यकामा कोरोना सङ्क्रमित बढेसँगै प्रशासनले हाल जारी निषेधाज्ञामा थप कडाइ गर्ने  भएको छ। अब बैंक तथा वित्तीय संस्थाहरूका एक चौथाइ शाखाहरूमा एक चौथाइ मात्र कर्मचारी राखी सञ्चालन गर्न दिने भएको हो। त्यसै गरी पत्रकारलाई समेत अब आफ्नो कार्यालयले जारी गरेको परिचयपत्रको भरमा हिँडडुल गर्न रोक लगाइने भएको छ। 

नेपाल राष्ट्र बैंकसँगको समन्वय र सहजीकरणमा बैंकका शाखा कम कर्मचारीबाट चलाउने, अत्यावश्यक सेवाबाहेक अन्य कार्यालयहरू एक चौथाइ कर्मचारीद्वारा सञ्चालन गर्ने नीति अवलम्बन गरिँदै छ।

सञ्चारकर्मीको नाममा अनधिकृत आवागमन बढेपछि अब १९ गते आइतबार देखि काठमाडौँ उपत्यकाको हकमा सूचना तथा प्रसारण विभागबाट र अन्य जिल्लाका हकमा प्रमुख जिल्ला अधिकारीले जारी गरेको प्रेस पास मात्र मान्य हुने गरिएको छ ।

उद्योग व्यवसाय सञ्चालन तथा सार्वजनिक निर्माण कार्य नियमित राख्न कर्मचारी एवं श्रमिकलाई उद्योगभित्रै बास तथा खानाको व्यवस्था गरी उद्योग व्यवसाय सञ्चालन गर्ने व्यवस्था मिलाइएको प्रशासनले जानकारी दिएको छ। कोभिड -१९ को रोकथाम, नियन्त्रण र उपचारका लागि आवश्यक सामग्री मास्क, स्यानिटाइजर, साबुन, पञ्जा, अक्सिजन उत्पादन गर्ने उद्योग, कलकारखाना स्वास्थ्य मापदण्ड पालना गरी सञ्चालन गर्ने तयारीमा सरकार लागेको छ। 

यसबिच जिल्ला प्रशासन कार्यालय काठमाडौँले कोभिड-१९ को सङ्क्रमणबाट दिनानुदिन वृद्धि हुँदै गइरहेको मृत्युदरलाई मध्यनजर गरी मृतकको शव व्यवस्थापन गर्ने र जलाउने स्थानको व्यवस्थाका लागि पशुपति क्षेत्र विकास कोषलाई अनुरोध गर्ने समेत निर्णय गरेको छ।

प्रतिक्रिया दिनुहोस