aarthiknews.com बुधबार, ०४ असार २०८२   Wednesday, 18 June, 2025
 

मुकेश अम्बानी जुटे अक्सिजन आपूर्तिमा, दैनिक एक हजार मेट्रिक टन नि:शुल्क बाँड्दै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १८ बैशाख २०७८
मुकेश अम्बानी जुटे अक्सिजन आपूर्तिमा, दैनिक एक हजार मेट्रिक टन नि:शुल्क बाँड्दै

भारत। भारतमा अक्सिजनको अभावमा दैनिक सयौँ कोरोना सङ्क्रमित बिरामीको मृत्यु हुन थालेपछि विश्व कै १० औँ धनी भारतिय अर्वपति मुकेश अम्बानी स्वयम् त्यसको आपूर्तिमा जुटेका छन्। अहिले उनको रिलायन्स इंडस्ट्रीज लिमिटेडले जामनगर तेल रिफाइनरीमा प्रति दिन १००० मेट्रिक टन भन्दा बढी मेडिकल-ग्रेड अक्सिजन उत्पादन गर्दै छ। 

यो अक्सिजन कोभिड १९ बाट सबैभन्दा खराब प्रभावित राज्यहरूलाई निःशुल्क दिईदैछ। रिलायन्सले मात्र भारतको मेडिकल ग्रेड अक्सिजनको ११ प्रतिशत  उत्पादन गर्दछ। हाल त्यहाँ प्रत्येक १० बिरामी मध्ये १ जनालाई अक्सिजन दिनुपर्ने अवस्था बनेको छ। 

भारतीय सञ्चार माध्यमहरूका अनुसार रिलायन्सको अक्सिजन आपूर्ति गर्ने अभियानको मुकेश अम्बानी आफैँ अनुगमन गरिरहेका छन्। उनको नेतृत्वमा रिलायन्सले आफ्ना धेरै रिफाइनरीहरूको उत्पादन प्रक्रिया परिवर्तन गरेको छ। जीवनदायी अक्सिजन उत्पादन गर्न र मानिसको ज्यान जोगाउन उनले आफ्नो तेल प्रशोधन केन्द्रको संरचनामा नै परिवर्तन गरेका छन्। 

रिलायन्सको जामनगर रिफाइनरीले कच्चा तेलबाट डिजेल, पेट्रोल, र हवाई इन्धन जस्ता वस्तुहरू उत्पादन गर्दछ। तर, अहिले त्यहाँ मेडिकल-ग्रेड अक्सिजन उत्पादन भइरहेको छ जुन पहिले त्यहाँ उत्पादन गरिएको थिएन। तर, कोरोनाको अवस्थामा तीव्र वृद्धि र अक्सिजनको मागलाई ध्यानमा राख्दै, रिलायन्सले आफ्नो प्रक्रिया परिवर्तन गर्‍यो र मेडिकल-ग्रेड अक्सिजन उत्पादन गर्न सुरु गरेको हो। 

धेरै छोटो समयमा रिलायन्सले मेडिकल ग्रेड अक्सिजनको उत्पादन शून्यबाट बढाएर १००० मेट्रिक टन पुर्‍यायो। यो परिमाणको अक्सिजनबाट प्रत्येक दिन औसत १ लाख बिरामीहरूलाई मद्दत गर्न सकिन्छ। रिलायन्सले अप्रिल महिनामा मात्र ५५ हजार मेट्रिक टन मेडिकल ग्रेड अक्सिजन निःशुल्क वितरण गरिसकेको छ। 

अक्सिजनको आपूर्तिमा ट्याङ्करको अभाव देखिएपछि अम्बानीले आफ्ना इन्जिनियरहरूको सहयोगमा नाइट्रोजन ग्याँस बोक्ने ट्याङ्करलाई अक्सिजन ट्याङ्करका रूपमा रूपान्तरण गरेका छन्। त्यतिले पनि नपुगेपछि रिलायन्सले साउदी अरेबिया, जर्मनी, बेल्जियम, नेदरल्याण्ड र थाइल्यान्डबाट २४ वटा अक्सिजन ट्याङ्करहरू 'एयर लिफ्ट' गरेर ल्याएको छ ।

प्रतिक्रिया दिनुहोस