aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

११ महिनापछि नेकपा एकता भोलि टुंगिँदै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०८ बैशाख २०७६
११ महिनापछि नेकपा एकता भोलि टुंगिँदै

काठमाडौं । ११ महिनापछि सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० ले पार्टीको संगठनात्मक एकता टुंग्याउने भएको छ । गत जेठ ३ गते मदन–आश्रित स्मृति दिवस पारेर पार्टी एकता घोषणा गरेको नेकपाले ११ महिना बित्दा पनि एकता प्रक्रिया टुंग्याउन सकेको थिएन ।

नेता माधवकुमार नेपाल र पार्टी अध्यक्ष केपी शर्मा ओलीबीच मत नमिल्दा पार्टी एकता समस्यामा परेको थियो । मध्यमार्गी भूमिका निर्वाह गरेको अध्यक्ष पुष्पकमल दाहालले ९ गते पार्टी एकताको काम टुंग्याउने जानकारी दिए ।

आइतबार काठमाडौंमा नेकपाको प्रदेश–३ ले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले भोलि (सोमबार) पार्टी स्थापना दिवसका अवसरमा घोषणा गर्ने जानकारी दिएका हुन् । नेता नेपालले मापदण्डका आधारमा एकता टुंग्याउनुपर्ने बताउँदै आएका थिए । तर, पार्टी अध्यक्ष ओलीले वरीयताका नाममा निष्क्रियलाई पनि नेतृत्व दिन नसकिने भन्दै आवश्यकता र परिस्थिति हेरेर जिम्मेवारी दिनुपर्ने बताउँदै आएका थिए ।

अध्यक्ष प्रचण्डले एउटा विधि बनाएर तत्कालका लागि एकता टुंग्याउनुपर्ने धारणा राखेपछि गाँठो फुकेको हो । सोमबार प्रज्ञा भवन कमलादीमा आयोजित कार्यक्रममा जिल्ला तहको नेतृत्वको घोषणा गर्ने नेकपाको तयारी छ ।

प्रचण्डका अनुसार आज दिउँसोभरि महासचिव विष्णु पौडेल, गृहमन्त्री रामबहादुर थापाले गृहकार्य गर्नेछन् । साँझ ६ बजे बस्ने पार्टी सचिवालयको बैठकले एकता टुंग्याउने छ ।

प्रतिक्रिया दिनुहोस