aarthiknews.com सोमबार, ०९ असार २०८२   Monday, 23 June, 2025
 

एक वर्षदेखि ३ अर्ब रुपैयाँको धूलो दूध र बटर मौज्दात

  • आजको आर्थिक अभियान दैनिकबाट
    आजको आर्थिक अभियान दैनिकबाट
  • मंगलबार, २१ बैशाख २०७८
एक वर्षदेखि ३ अर्ब रुपैयाँको धूलो दूध र बटर मौज्दात

काठमाडौं । कोरोना महामारीका कारण बजारको चक्र बिग्रिएपछि १ वर्षको अवधिमा देशैभर करीब ३ अर्ब रुपैयाँको धूलो दूध र बटर मौज्दात हुन पुगेको छ । महामारीका कारण बजारमा खपत घटेपछि दुग्ध उद्योगी तथा व्यवसायीहरू विक्री नभएको दूधलाई धूलो पाउडर र बटर बनाएर मौज्दात गर्न बाध्य भएका हुन् ।

नेपाल डेरी एशोसिएशनले उपलब्ध गराएको तथ्यांकअनुसार मौज्दात रहेको ३ अर्ब रुपैयाँको धूलो दूध र बटरमध्ये एशोसिएशन भित्र मात्रै वर्ष दिनको अवधिमा करीब १ अर्ब रुपैयाँको दूध मौज्दात रहेको छ । यस वर्ष पनि कोरोना संक्रमणको दर बढ्दै गएर अवस्था भयावह बन्दै गएपछि जारी निषेधाज्ञाका कारण काठमाडौं उपत्यकामा मात्रै दूधको खपत करीब ६० प्रतिशतले घटेको बताइएको छ ।

एशोसिएशनका महासचिव प्रह्लाद दाहालका अनुसार दूधको खपत घटेसँगै मौज्दात अझै बढ्ने देखिएको छ । यसबाट दूध उत्पादक किसान, व्यवसायी र उद्योगी सबैलाई बढी भएको दूधलाई कसरी व्यवस्थापन गर्ने भन्ने बारेमा चुनौती थपिएको उनको भनाइ छ ।

गतवर्ष महामारीका कारण लामो समयसम्म भएको बन्दाबन्दीले होटल, रेस्टुराँ, स्कूल, कलेज, पार्टी प्यालेसलगायत दूध धेरै खपत हुने व्यवसायहरू बन्द हुन गई खपत घट्न पुग्दा उद्योगीहरूको नगद प्रवाह रोकिएको छ । यसले गर्दा अधिकांश उद्योगहरूले हालसम्म पनि किसानलाई दूधको भुक्तानी दिन नसकेको अवस्था छ ।

सरकारले उद्यागीहरूसँग मौज्दात रहेको सामानको रकम बराबर उद्योगलाई कर्जा उपलब्ध गराउनुपर्ने माग दुग्ध व्यवसायीहरूले राखेका छन् । त्यसो गर्दा किसानहरूले भुक्तानी पनि पाउने र उद्योगीहरूको दैनिकी पनि चल्न सजिलो हुने सरोकारवालाहरूको भनाइ छ ।

जारी निषेधाज्ञाका कारण अधिकांश दुग्धजन्य पदार्थ ढुवानीकर्ता व्यवसायीहरूले राष्ट्रिय दुग्ध विकास बोर्डद्वारा तयार पारीएको दुग्ध पदार्थ ढुवानी गर्ने सवारी साधनमा प्रयोग गरिने प्रतिक  चिन्ह प्राप्त गर्न कठिनाइ भएको महासचिव दाहालले जानकारी दिए ।

बोर्डले दुग्ध पदार्थ ढुवानीमा कुनै बाधा उत्पन्न नहोस् भनेर गत चैतमा नै प्रतीक चिह्न तयार गरेको थियो । तर, विभिन्न प्रक्रियाहरू बाँकी रहेकाले बोर्डले ढुवानीकर्ताहरूलाई प्रतीक चि≈न प्रदान गर्न सकेको छैन ।

वैशाख १६ गते निषेधाज्ञा हुनुभन्दा १ दिन अघि बोर्डले सूचना जारी गर्दै ढुवानीकर्ताहरूलाई प्रतीक चिह्नका लागि बोर्डमा सम्पर्क गर्न अनुरोध गरेको थियो । तर, निषेधाज्ञाका कारण हालसम्म पनि कुनै पनि ढुवानीकर्ता व्यवसायी, उद्योगी र शहकारी संस्थाहरूले प्रतीक चिह्न प्राप्त गर्न नसकेको बोर्डका सूचना अधिकारी अमोघ काफ्लेले स्वीकार गरे ।

प्रतिक्रिया दिनुहोस