aarthiknews.com सोमबार, ०९ असार २०८२   Monday, 23 June, 2025
 

भारतबाट फर्केका परीक्षणबिनै गाउँगाउँमा

  • आजको नागरिक दैनिकबाट
    आजको नागरिक दैनिकबाट
  • मंगलबार, २१ बैशाख २०७८
भारतबाट फर्केका परीक्षणबिनै गाउँगाउँमा
फाइल फोटो

काठमाडौं । कोराना संक्रमणको दोस्रो लहर व्यापक रूपमा फैलिएपछि भारतका विभिन्न ठाउँबाट नेपाली घर फर्किरहेका छन्। प्रत्येक दिन हजारभन्दा बढी कैलालीको गौरीफन्टा, कञ्चनपुरको गड्डाचौकीलगायतका नाकाबाट सुदूरपश्चिम प्रवेश गरिरहेका छन्। तर उनीहरूलाई परीक्षणबिना नै गाउँ जान दिइएको छ।

भारतबाट फर्कनेको नाकामा एन्टिजेन जाँच गरेर संक्रमण पत्ता लगाउने भनिए पनि किट अभावमा अधिकांशको जाँच हुने गरेको छैन। आइतबार भारतबाट भित्रिएका १ हजार ८० जनामध्ये ३ सय ८२ जनाको मात्र एन्टिजेन परीक्षण गरियो भन्ने अन्यलाई त्यसै घर जान दिइयो। शनिबार ११ सय ७० मा ४ सय ३२ जनाको मात्र जाँच गरिएको थियो। त्यस्तै शुक्रबार भारतबाट आएका १७ सय ४७ मध्ये ४ सय ७ जनाको एन्टिजेन जाँच गरिएको थियो।

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो एक सातामा गौरीफन्टा, गड्डाचौकीलगायतका नाकाबाट ९ हजार ७ सय ५२ जना सुदूरपश्चिम फर्केका छन्। तीमध्ये बढीजसो परीक्षण नगरी गाउँगाउँ पुगेका छन्।

नाकामा स्थापना गरिएको हेल्थ डेस्कमा खटिएका स्वास्थ्यकर्मी गणेश साउदले किट र जनशक्ति अभावले सबैको परीक्षण गर्न सम्भव नभएको बताए। एउटा समूहमा रहेका मध्ये एकजनाको परीक्षण हुने गरेको उनले जानकारी दिए। कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले किटको अभावले भारतबाट फर्केका सबैको एन्टिजेन परीक्षण हुन नसकेको पुष्टि गरे। ‘लक्षण भएका र हट स्पटबाट आएकाको परीक्षण गर्ने गरिएको छ’, उनले भने, ‘किटको अभावले सबैको परीक्षण हुन सकेको छैन।’ 

निषेधाज्ञाका कारण सवारीसाधन नचलेकाले भारतबाट फर्केकालाई यातायात व्यवसायीसँग समन्वय गरेर बसलगायतका सवारीसाधनमा गाउँ पुग्ने व्यवस्था गरिएको उनले बताए। सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखाका प्रमुख नरेन्द्र सिंह कार्कीले किट खरिदका लागि प्रक्रिया अघि बढाएको बताए। ‘हामीले पनि र विभागले पनि किट खरिदका लागि टेन्डर खोलेका छौं’, उनले भने।

नयाँ प्रजातिका कोराना भाइरसको संक्रमण फैलिरहेको भारतबाट फर्केका नागरिक बिनापरीक्षण गाउँ जानाले संक्रमण समुदायमा फैलिने खतरा बढेको विज्ञले बताएका छन्। सेती प्रादेशिक अस्पताल कोरोना उपचार विभागका प्रमुख शेरबहादुर कमर भारतबाट फर्केकाको परीक्षण गरेर संक्रमितलाई समुदायबाट अलग्याउन नसकेमा अवस्था जटिल बन्ने बताउँछन्। ‘कोरोना व्यापक रूपमा फैलिएको भारतबाट फर्केकाको परीक्षण गरेर आइसोलेसनमा राख्न जरुरी छ’, उनले भने, ‘भारतबाट फर्केकालाई सवारीसाधनमा समेत दूरी कायम हुनेगरी व्यवस्था गरेर घर पठाइनुपर्छ।’

वरिष्ठ फिजिसियन डा।शुभेश कायस्थ धेरै लापरबाही भएकाले कोराना संक्रमण फैलिएर थेग्न नै नसक्ने गरी जटिल अवस्था उत्पन्न हुने खतरा बढेको बताउँछन्। भारतबाट फर्केकालाई परीक्षण गर्न नसकेमा सबैलाई १४ दिन क्वारेन्टिनमा राखिनुपर्ने उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस