
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कर फर्स्योट आयोगबाट भएका कर मिनाहाका बाँकी फाइलमाथि अनुसन्धान सकेर मुद्दा दायर गर्ने भएको छ । अख्तियारले २०७१ सालमा गठित कर फर्स्योट आयोगका तत्कालीन अध्यक्ष लुम्बध्वज महत, सदस्य उमेश ढकाल र सदस्य सचिव भई काम गरेका आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चूडामणि शर्माविरुद्ध दोस्रो मुद्दा दायर गर्ने तयारी गरेको हो । शर्माको बयान लिइरहेको अख्तियारले बाँकी अनुसन्धानका सबै प्रक्रिया पूरा भइसकेको स्रोतले जनाएको छ ।
अख्तियारले २०७४ साउन १ मा आयोगका तत्कालीन पदाधिकारीहरू महत, ढकाल र शर्माविरुद्ध जनही ३ अर्ब ३४ करोड रुपैयाँ बिगो र त्यसको दोब्बर जरिवाना मागदाबीसहित मुद्दा दायर गरेको थियो । बिगो र जरिवाना जोड्दा हरेकमाथि करिब १० अर्ब रुपैयाँका दरले मागदाबी थियो । झन्डै चार वर्षदेखि विशेष अदालतमा उक्त मुद्दा विचाराधीन छ । आयोगबाट २१ अर्ब रुपैयाँ कर मिनाहा भएकामा अख्तियारले पहिलो चरणमा ३ अर्ब ३४ करोड रुपैयाँ बराबरको फाइलमाथि अनुसन्धान गरेर मुद्दा दायर गरेको थियो । सोही अभियोगपत्रमा बाँकी फाइलमाथि छानबिन भइरहेकाले अनुसन्धान सकिनासाथ मुद्दा पेस गरिने भनी निर्णयको प्रतिलिपि पठाइएको थियो ।
‘अहिले विशेष अदालतले हरेक पटकको पेसीमा नयाँ मुद्दा आयो कि आएन भनेर जिज्ञासा राखिरहेको छ, अरू मुद्दा पनि आएपछि एकैसाथ हेर्ने भनेर पहिलो मुद्दाको सुनुवाइ नै अघि बढ्न सकेको छैन,’ अख्तियार स्रोतले भन्यो, ‘त्यही भएर बाँकी फाइलमाथिको अनुसन्धान टुंग्याएर मुद्दा दायर गर्ने तयारी भएको हो ।’ कर फर्स्योट आयोगका अध्यक्ष महत र सदस्य ढकालले बयान गरिसके पनि निलम्बित अवस्थामा रहेका सहसचिव शर्मा आयोगमा उपस्थित भएका थिएनन् । त्यतिबेला अख्तियारले करिब ४५ वटा फाइलमाथिको अनुसन्धान सकेर मुद्दा दायर गरेको थियो ।
कुल १ हजार ६९ फाइलमध्ये पहिलो चरणमा ४५ वटा फाइलमाथि अनुसन्धान टुंग्याएको थियो । त्यसमा एनसेललगायतका केही विवादास्पद र चर्चित कम्पनीहरूको फाइलसमेत थियो । छानबिन हुँदै गरेका फाइलमा प्रायः एक करोडभन्दा कम रकमका छन् । बयानमै नआएको भन्दै अख्तियारले यही वैशाख ८ गते एउटा सार्वजनिक सूचना निकालेको थियो । ‘कर फर्स्योट आयोगबाट कर फर्स्योटका लागि सम्झौता भएका विभिन्न करदातासँग गैरकानुनी रूपमा सम्झौता गरी राज्यलाई ठूलो आर्थिक हानि–नोक्सानी पुर्याई भ्रष्टाचार गरेको भन्ने उजुरीको छानबिनका क्रममा उपस्थित हुन नआएमा कानुनबमोजिम भइजाने व्यहोरासमेत यसै सूचनाद्वारा जानकारी गराइन्छ,’ एक साताभित्र बयानका लागि आउनु भनी निकालिएको अख्तियारको सूचनामा भनिएको छ ।
अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालले कर फर्स्योट आयोगको अनियमितताको विषयमा पहिलो चरणबाट मुद्दा गएपछि बाँकी रहेका फाइलमाथि अनुसन्धान भइरहेको बताए । उनका अनुसार, त्यही क्रममा बयानका लागि नआएका व्यक्तिलाई अनुसन्धान अधिकृतले सार्वजनिक सूचना निकालेका हुन् । स्रोतका अनुसार शर्माको बयान प्रक्रिया चलिरहेको छ ।
प्रतिक्रिया दिनुहोस