aarthiknews.com सोमबार, ०९ असार २०८२   Monday, 23 June, 2025
 

निषेधाज्ञामा जग्गा खरिद–बिक्री रोक्का

  • आजको कान्तिपुर दैनिकबाट
    आजको कान्तिपुर दैनिकबाट
  • मंगलबार, २१ बैशाख २०७८
निषेधाज्ञामा जग्गा खरिद–बिक्री रोक्का

काठमाडौं । निषेधाज्ञाभर जग्गा खरिद तथा बिक्री कारोबार गर्न नमिल्ने भएको छ । निषेधाज्ञाभर सेवाग्राहीलाई दिइने सेवा बन्द गरिएकाले जग्गा खरिदबिक्री गर्न नमिल्ने भूमि व्यवस्थापन तथा अभिलेख विभागका प्रवक्ता गुरुदत्त सुवेदीले जानकारी दिए ।

‘मालपोत कार्यालयहरूमा प्रगति प्रतिवेदन तयार गर्ने, छुटेका विवरण राख्नेलगायत आन्तरिक काम मात्र भइरहेका छन्,’ उनले भने । मालपोत कार्यालयहरूमा सेवाग्राहीको उपस्थितिले संक्रमणको जोखिम निम्त्याउन सक्ने भएकाले निषेधाज्ञाभर बाह्य सेवा बन्द गरिएको उनको भनाइ छ । यसकै लागि विभागले मालपोत कार्यालयमा हुने सेवाग्राहीको उपस्थितिलाई कम गर्न अनलाइनमा आधारित ‘भू–सेवा केन्द्र’ अर्थात् पब्लिक एक्सेस मोडल (पाम) सञ्चालनमा आएको एक वर्ष पूरा भइसकेको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले २०७६ असार ५ देखि ‘भू–सेवा केन्द्र सञ्चालन निर्देशिका–२०७६’ जारी गरेसँगै यो व्यवस्था कार्यान्वयनमा आएको हो । यससँगै सेवाग्राही आफैंले इन्टरनेटमार्फत घरजग्गा हक हस्तान्तरणसम्बन्धी काम गर्न सक्ने भनिए पनि विभागले पूर्ण रूपमा अनलाइनमा आधारित सेवा प्रवाह गर्न सकेको छैन । जसले गर्दा सेवाग्राहीले निषेधाज्ञाको समयमा समेत अनलाइनमार्फत जग्गाको खरिद तथा बिक्री गर्न नमिल्ने भएको हो ।

‘विभागले सञ्चालनमा ल्याएको भू–सेवा प्रणालीबाटै जग्गा खरिदबिक्री गरिनुपर्ने हो । तर यो पूर्ण रूपमा अनलाइनमा आधारित भइसकेको छैन,’ उनले भने, ‘जग्गा खरिदबिक्री र स्वीकृतिका लागि मालपोत कार्यालयमा आएर सहीछाप र ल्याप्चे लगाउनुपर्ने अवस्था छ । केही कानुनी कुरालाई मिलाएर एक वर्षभित्र भने पूर्ण रूपमा अनलाइन नै बनाउने तयारी गरिरहेका छौं ।’ यसपछि सेवाग्राहीहरूले घरबाटै जग्गाको खरिद, बिक्री र स्वीकृति लिन सक्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस