aarthiknews.com सोमबार, ०९ असार २०८२   Monday, 23 June, 2025
 

हवाई सेवा बन्द हुँदा वैदेशिक रोजगारीमा जाने रोकिँदै

  • आजको कारोबार दैनिकबाट
    आजको कारोबार दैनिकबाट
  • मंगलबार, २१ बैशाख २०७८
हवाई सेवा बन्द हुँदा वैदेशिक रोजगारीमा जाने रोकिँदै

काठमाडौं । सरकारले हवाई सेवा बन्द गर्ने निर्णय गरेसँगै वैदेशिक रोजगारीमा जाने औषत दैनिक ४ सयभन्दा बढी नेपाली रोकिने भएका छन् । श्रम गन्तव्य देशसँग समन्वय नै नगरी सरकारले अन्तर्राष्ट्रिय हवाई सेवा रोक्ने निर्णय गरेपछि वैदेशिक रोजगारीमा जाने दैनिक ४३० श्रमिकको रोजगारी नै गुम्ने देखिएको छ ।

सरकारले एक्कासि हवाई सेवा रोक्ने निर्णय गरेपछि वैशाख २३ गतेपछि श्रम गन्तव्य पुग्ने गरी हवाई टिकटको व्यवस्था गरेका श्रमिकको रोजगारी नै अलपत्र पर्ने भएको छ । सरकारले अन्तर्राष्ट्रिय उडान रोक्ने तयारी गरेपछि निषेधाज्ञा अवधिमा श्रम स्वीकृति लिएका र नयाँ लिने ४ हजारभन्दा बढी श्रमिक रोकिने छन् । बिदामा आएर पुनः श्रम स्वीकृति लिने र नयाँ गरी हाल देशभर औषत ५०० भन्दा श्रमिकले रोजगारीका लागि विदेश जान श्रम स्वीकृति लिने गरेका छन् । सरकारले अनलाइनमार्पmत श्रम स्वीकृति लिने व्यवस्था गरेपछि निषेधाज्ञामा समेत श्रम स्वीकृति लिन सकिने भएका कारण यो संख्या अझ बढ्ने देखिएको छ ।

सरकारले अन्तर्राष्ट्रिय उडान रोक्ने तयारी गरेसँगै वैशाख २३ पछि श्रम गन्तव्यमा पुग्ने तयारी गरेर काठमाडौं आएका श्रमिकसमेत अलपत्र परेका छन् । श्रम गन्तव्यमा जाने तयारीमा काठमाडौं आएका उनीहरू उडान रोकिने निर्णय भएपछि गाउँ फर्कनसमेत पाएका छैनन् ।

वैदेशिक रोजगार विभागका अनुसार, हाल औषत ३ सयदेखि ४ सय श्रमिक वैदेशिक रोजगारीमा जाने गरेका छन् । विभाग महानिर्देशक कृष्णप्रसाद दवाडीले चार्टडबाहेकका सबै उडान रोक्ने तयारी गरेका कारण वैदेशिक रोजगारीमा जाने श्रमिक रोकिने सम्भावना रहेको बताए । “श्रम स्वीकृति लिएर २३ गतेपछि जाने श्रमिकलाई कसरी श्रम गन्तव्यमा पठाउनेबारे मंगलबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रलायसँग छलफल गर्ने कुरा छ ।” दवाडीले भने, “यसअघि औषत लगभग हजारको हाराहारीमा वैदेशिक रोजगारीमा जाने क्रम बढेको भए पनि हाल भने केही कमी आएको छ ।”

नेपालको प्रमुख श्रम गन्तव्य कतार, साउदी अरब तथा यूएईले विदेशी श्रमिकको प्रवेशलाई रोक नलगाए पनि निश्चित समय क्वारेन्टाइनमा बसेपछि कार्यस्थलमा पठाउने जनाएका छन् । कतार सरकारले हालै सूचना सार्वजनिक गरी विदेशी श्रमिकको हकमा प्रवेशमा रोक नलगाएको तर ४८ घन्टाको पीसीआर नेगेटिभ रिपोर्ट र १४ दिन क्वारेन्टाइन बस्नैपर्ने निर्णय गरेको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ ।

सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकको वैकल्पिक व्यवस्था नै नगरी अन्तर्राष्ट्रिय उडान रोक्ने निर्णय गरेपछि वैदेशिक रोजगार विभागले श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसँग छलफल गरी निर्णय सार्वजनिक गर्ने जनाएको छ । मन्त्रालयले हालै सार्वजनिक गरेको प्रतिवेदनमा चालू आवको वैशाख १७ गतेसम्म १ लाख ३ हजार ३५ श्रमिक वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएको जनाएको छ । यसमध्ये बिदामा आएर पुनः श्रम स्वीकृति लिनेको संख्या ६१ हजार ३४२, संस्थागत तथा व्यक्तिगत ३८ हजार र वैधानिकीकरण ३ हजार ६४२ श्रमिकले श्रम स्वीकृति लिएका छन् ।

पहिलो चरणको कारोना संक्रमणपछि भदौबाट लयमा फर्कंदै गरेको वैदेशिक रोजगारी कोरोना संक्रमण दोस्रो लहर बढेसँगै रोकिने संकेत देखिएको छ । चालू आवमा वैदेशिक रोजगारीबाट ३ लाख ८१ हजार ६०८ श्रमिक फर्किए पनि रोजगारीका लागि जाने भने १ लाख ३ हजारको हाराहारीमा मात्र छन् । सरकारले हवाई सेवा बन्द गरेपछि सातामा औषत १ हजार ५ को हाराहारीमा फर्कने नेपालीसमेत श्रम गन्तव्यमा नै रोकिने भएका छन् ।

प्रतिक्रिया दिनुहोस