काठमाडौं । एसइईमा ‘ए प्लस’ नआएको भन्दै एक किशोरीले आत्महत्या गरेकी छन् । चन्द्रागिरी नगरपालिका १२ बलम्वु दूरसञ्चार नजिकै एसइई परीक्षामा ए प्लस’ नआएको भन्दै सदिक्षा पौडेलले झुण्डिएर आत्महत्या गरेकी हुन् ।
उनले अर्घाखाँची जिल्ला सन्धिखर्क नगरपालिका वडा नम्बर ७ घर भई चन्द्रागिरी १२ बलम्वु दूरसञ्चार श्री बलम्वु माविबाट यस वर्ष एसइई परीक्षा दिएकी थिइन ।
बलम्वु माध्यमिक विद्यालयबाट पौडेलको एसइईमा जिपिए ३.६ आएको थियो । विगतका वर्षहरुमा पनि नतिजा प्रकाशित भएसँगै किरोशकिशोरीहरुले आत्महत्या गर्दै आएका थिए । आफ्नो नतिजामा सन्तुष्ट हुन नसकेर उनीहरुले आत्महत्याको बाटो रोज्दै आएका थिए ।
यस वर्षको परीक्षामा नियमिततर्फ चार लाख ५१ हजार ५३२ र आंशिकतर्फ २५ हजार १३८ परीक्षार्थी सहभागी भएका थिए । यस्तै प्राविधिक धारको नियमिततर्फ आठ हजार ९०६ र आंशिकतर्फ १० परीक्षार्थी सहभागी भएका थिए ।
नतिजाअनुसार नियमिततर्फ १४ हजार २३४ विद्यार्थीले जिपिए ३.६५ देखि ४ (ए प्लस), ४६ हजार १३० विद्यार्थीले जिपिए ३.२५ देखि ३.६० (ए), ४९ हजार ३७ जना विद्यार्थीले जिपिए २.८५ देखि ३.२० (बि प्लस), ७० हजार ५१२ विद्यार्थीले जिपिए २.४५ देखि २.८० (बि), ६१ हजार ८७० विद्यार्थीले जिपिए २.०५ देखि २.४० (सि प्लस), १ लाख १ हजार ४३ विद्यार्थीले १.६५ देखि २.०० (सि) ल्याउन सफल भएका छन् । यसैगरी ३५ हजार ५८४ विद्यार्थीले १.२५ देखि १.६० (डि प्लस), ५८ हजार ६८८ विद्यार्थीले ०.८५ देखि १.२० (डि) ल्याएका छन् । यसवर्ष ‘ई’ ग्रेड कसैले पनि ल्याएका छैनन् ।
प्रतिक्रिया दिनुहोस