
लहान । सहिद परिवारका नाममा प्रदेश २ सरकारद्वारा दुहुनो भैँसी वितरण गरेको छ । प्रदेश २ सरकारका कृषि तथा सहकारीमन्त्री शैलेन्द्रप्रसाद साहले पूर्वकेन्द्रीय मन्त्री राजलाल यादवलाई दुहुनो भैँसी हस्तान्तरण गरेका हुन् । पूर्वमन्त्री तथा समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य यादवले सिरहा भगवानपुर गाउँपालिका–३ बाट वडा सदस्य जितेका छन् ।
प्रदेश २ सरकारले मधेस आन्दोलनका सहिद परिवारका लागि भन्दै भैँसी किनेर पार्टीका नेता तथा पूर्वमन्त्रीलाई वितरण गरेको हो । सिरहामा सरकारले बाँडेको भैँसी पूर्वमन्त्री र पार्टीका नेतादेखि नेताका आफन्तसम्मको गोठमा पुगेका हुन् ।
पूर्वकेन्द्रीय मन्त्रीसमेत रहेका समाजवादी पार्टीका नेता राजलाल यादव र उनका छोरीज्वाइँ रमेशकुमार यादवले सहिदको परिवारका नाममा आएको भैँसी पाएका हुन् ।
मधेस आन्दोलनमा सिरहाबाट ६ जना सहिद भएका थिए । यो जिल्लामा सरकारले १८ परिवारलाई भैँसी बाँडेको छ । तर, तीन सहिद परिवारले भैँसी पाएका छैनन् । सहिद रमेशकुमार महतो, बेचन यादव र प्रमोद सदायका परिवारले मात्रै सरकारी भैँसी पाएका छन् । सहिद विजयकुमार सहनी, मोहम्मद अनिस र राजेशकुमार ठाकुरका परिवारले भने पाएनन् । पहुँचका आधारमा सहिद परिवारबाहेकका राजनीतिक व्यक्तिलाई भैँसी बाँडेको भन्दै पीडितले आपत्ति जनाएका छन् ।
सरकारले नेतालाई पनि गाई, भैँसी वितरण गर्न कार्यविधि परिवर्तन गरेको थियो । नयाँ कार्यविधिमा घाइतेलाई पनि दिने उल्लेख छ, त्यहीअनुसार पूर्वमन्त्रीले पाएका हुन् । सरकारबाट भैँसी पाएका पूर्वमन्त्री यादवलाई नयाँ पत्रिकाले ‘तपाईं पनि घाइते हो’ भनेर सोधेको थियो । जवाफमा उनी लामो हाँसो हाँसे । पछि उनले भने, ‘पुलिसको लाठी खाएको थिएँ, अस्पताल पनि गएको थिएँ ।’
सहिद परिवारबाहिरका व्यक्तिले सरकारी भैँसी पाएपछि शुक्रबार साँझ लहानमा युवाहरूले विरोध जुलुस निकाले । प्रदेश सरकारको नेतृत्व गरिरहेको समाजवादी पार्टीका नेता कार्यकर्तालाई अपारदर्शी रुपमा भैँसी बाँडेर मधेस आन्दोलनकै मजाक उडाएको भन्दै भैँसी फिर्ता गर्न मागसमेत गरे ।
प्रतिक्रिया दिनुहोस