aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

लकडाउनको जवाफ फेरी लकडाउन हुन सक्दैन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २२ बैशाख २०७८
लकडाउनको जवाफ फेरी लकडाउन हुन सक्दैन

फेरी लकडाउनको शुरुवात भयो नयाँ रुपबाट निषेधाज्ञाको नाममा। भाषा फरक होलान, लेख्ने तरिका फरक होला, प्रस्तुति फरक शैलीमा गरिएला तर गर्न खोजिएको चाहि ठप्प पार्नै खोजिएको हो। चाहे त्यो सरकारी अड्डा होस् या एउटा निजि प्रयोगशाला ।बिगतको पाठबाट हामीले केहि सिकेनौ। हाम्रा ध्यान केवल उच्च स्थान खोज्ने या बनाउने तर्फ मोडियो ।

बिगतबाट पाठ सिकेर एउटा मात्रै कोविड अस्पताल बन्न सकेको भए आज काठमाण्डौको बिरामी बाग्लुङ्ग लगियो भन्ने समाचार पढ्नु पर्ने थिएन। दक्ष जनशक्ति तयार गर्न सकेको भए आज सक्रमित चिकित्सकले आफ्नो स्वास्थको ख्याल गर्न पाउनु त कता हो कता आफै उपचारमा खटिनु परेको तितो यथार्थ पढेर आखा रसाउनु पर्ने थिएन ।  मानिसहरुका आशा निराशामा परिणत हुने थिएनन। केहि नुहुनु भन्दा केहि भएकोमा खुशी मनाउने अवस्था शृजना हुन्थ्यो।

मानिसमा केवल भ्रम छरियो। कहिले अम्बाका पातका नामले त कहिले बेसार पानीका नामले। संगै तालि बजाउने जमात छदै थिए। जे भनेपनि हो भनेर तालि बजाइहाल्थे । सफलता यसैमा देखियो र खुशी मनाइयो किनकी मान्छे खुशी थिए र त ताली बजाए भन्ने भ्रममा आफैलाई पालियो ।  समय केवल आरोप प्रत्यारोप र सिमित नामहरुका उचाल पछारमै सकिए । स्थायित्वको सरकारले स्थायी शान्ति दिन्छ भन्ने भ्रममा पालिएका जनता उही अस्थिरताका बीच रुमल्लिइरहे।

ब्यापार व्यवसाय उठनै नसकिने गरि थलिने अवस्थामा छन्। पर्यटकीय क्षेत्रमा भएको ठूलो लगानी बालुवामा पानी पोखे सरह हुने अवस्था देखियो। क्रय क्षमता क्रमशः ह्रास हुदै आएको छ। ब्यक्तिगत बचत न्यून हुने अवस्थामा पुगिसकेको छ । अरु ६ देखि ८ महिना यहि अवस्था रहयो भने शुन्य हुने लगभग निश्चित छ तैपनि हामी समृद्दिका खोक्रा कुरा गर्न तल्लिन छौ ।  प्रगतिका लामा झुठा ग्राफ र केहि मिथ्यांक प्रस्तुत गरेकै छौ । आखिर लाज भन्ने शब्द शब्दकोशमै सिमित गरिदिए पछि कसको के लाग्छ र ? 

दैनिक ज्यालादारीमा गुजारा गर्ने जमात जस्को कुनै पनि सुनुवाई कतै हुदैन र कसैले तिनका क्रन्दन सुन्दैनन् पनि , त्यसै आशु पिएर बाच्नु पर्ने अवस्था तर्फ उन्मुख छ ।  यसपटक सक्रमित प्रति गरिने छिः छिः दुर दुरमा कमि आएको छ । बिगतका अनुभवले मानिसले यो जो कोहीलाई हुन सक्छ भन्ने कुराको चेतना ल्याइदिएको छ । साथै यो हाम्रो साझा समस्या हो भन्ने कुरा बुझ्न थालिएकोले सामाजिक रुपमा बहिष्कृत भएर सक्रमित बस्नु परेको अवस्था छैन । 

आर्थिक क्षेत्र बिस्तारै लयमा फर्किन्छ की भन्ने आशामा थियो। फेरी उही अवस्था तर्फ उन्मुख छ किनकी सरकार सबैभन्दा सजिलो बन्द गरिदिनु हो भन्ने मान्छ । एक बर्षमा तैयारी गरेको भए नहुने केहि थिएन तर भाले बास्नकालागी अग्ला स्थान बनाइयो र पूर्ण रुपमा तैयार नहुदै उदघाटन गरियो किनकी के बन्यो भन्नु भन्दा कसले उद्घाटन गरेको भन्ने नाम राख्नु प्राथमिकतामा प¥यो ।

जनस्वास्थ भन्ने बिषय र जनता प्रति उत्तरदायी हुनुपर्छ भन्ने मान्यता केवल राजपत्रमा राम्रा अक्षरमा लेखिए । अग्ला टावर बनेको बन्यै छन्। जग्गाका कारोबारीले त्यो टावरमा बसेर यो जग्गा हेर्दा आहा क्या राम्रो देखिन्छ  भनेर सपना बाडेरै खेति योग्य जमिन घडेरीमा बेचेकै छ ।सरकार बादर लडेर मर्ने भिरलाइ नगरपालिका घोषणा गरेर कर उठाउन पाएकामा सन्तुष्ठ छदै छ । आखिर खर्च त धान्नै प¥यो। तर, उठाएका कर कहाँ गए, कसले हिसाब माग्ने  अर्बौ रुपैया कोरोना कोष मा जम्मा भए त्यो कहाँ के का लागि खर्च भयो वा बाकि नै छ ।

त्यसमा प्रश्न कसले उठाउने ? खर्च भएको भए कतिवटा कोरोना उपचार गर्ने अस्पताल बने ? कतिवटा सो सग सम्बन्धित उपकरण खरिद भए ? कति जना स्वास्थ्य कर्मीलाई यो क्षेत्रमा तालिम उपलब्ध गराइयो वा दक्ष  बनाइयो ? यदि खर्च नभएको भए त्यो रकम कहाँ गयो ? हामीले आफ्नो गाँस कटाएर उठाएको रकम हामीलाई थाहै नदिई आफुखुशी गर्न पाइन्छ ? हामीलाई जवाफ दिनु पर्दैन ? हिसाव माग्ने हाम्रो अधिकार हो । जवाफ दिनुपर्दैन ?

लकडाउन स्थायी समाधान होइन , सधै लकडाउन गरेर आर्थिक क्षेत्र ध्वस्त पारियो भने त्यसले निम्त्याउने परिणाम कोरोनाको आतंक भन्दा बढी हुन्छ । सधै जनता कर तिर्न तयार भएर बस्दैनन् ।राज्यले उपलब्ध गराउनु पर्ने न्युनतम सुबिधा नदिएर त्यसबाट समेत बन्चित गराएर सधै कर उठाएर राज्य चलाउछु भन्नु दिवा स्वप्न बन्ने अवस्था आउछ । राज्यमा सुख शान्ति खलबलिनुको कारण खराव मान्छेका खराब कर्तुत होइन राम्रा मान्छे शान्त बसिदिनु र नाबोलिदिनु हो।

यो देशमा अझै पनि खराव भन्दा राम्रा मान्छे को संख्या कैयौ गुणा बढि छ । फरक यति मात्रै हो खराबका कुरा छापिन्छन र चर्चित हुन्छन  जुन दिन सद्धे मान्छेलाइ असैह्य हुन्छ त्यो दिन सबै लकडाउन, कर्फ्यु बेकार हुन्छन  ।त्यसैले लकडाउनको उत्तर फेरी लकडाउन हुन सक्दैन । हामी कहाँ चुक्यौ भन्ने बारे पछि समिक्षा गर्दै गरौला तर अहिले हामी कहाँ छौ भन्ने कुरा लाइ लिएर तत्काल गर्न सकिने अस्थायी उपचार केन्द्र, अस्थायी अस्पताल बनाएर जनबिश्वाश हासिल गर्ने तर्फ सोचिएन भने आउने परिणाम अत्यन्तै कठोर र भयावह हुने निश्चित छ ।
लेखक निजि क्षेत्रसग सम्बन्धित हुनुहुन्छ।


 

प्रतिक्रिया दिनुहोस