aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

विदेशीलाई प्रधानमन्त्रीको चेतावनी, 'अतिरिक्त कूटनीतिक गतिविधि नगर्नुहोला'

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १५ असार २०७६
विदेशीलाई प्रधानमन्त्रीको चेतावनी, 'अतिरिक्त कूटनीतिक गतिविधि नगर्नुहोला'

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले अतिरिक्त कूटनीतिक गतिविधि नगर्न अन्तर्राष्ट्रिय समुदायलाई चेतावनी दिएका छन् । आकार सानो भएका कारण कुनै राष्ट्र हेपिन नचाहने भन्दै प्रधानमन्त्री ओलीले यस्तो आग्रह गरेका हुन् । विदेशनीतिका सम्बन्धमा सर्वपक्षीय एकरूपता कायम गर्न शनिबार बोलाइएको कूटनीतिक संवादमा प्रमुख दलका प्रतिनिधि सहभागी थिए ।

‘हामी हेपिन चाहँदैनौँ, सार्वभौम समानताका आधारमा हामी अघि बढ्न चाहन्छौँ,’ परराष्ट्र मन्त्रालयअन्तर्गत परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले भने, ‘एक्स्ट्रा कूटनीतिक गतिविधि कतैबाट नहोस् भन्ने हामी चाहन्छौँ । आजको अन्तर्राष्ट्रिय सम्बन्ध संयुक्त राष्ट्रसंघीय बडापत्रबाट निर्देशित हुनुपर्छ ।’ 

अन्तर्राष्ट्रिय प्रतिबद्धता नमान्ने प्रवृत्ति राम्रो होइन
प्रधानमन्त्री ओलीले कुन नियोगले अतिरिक्त कूटनीतिक गतिविधि गरिरहेको भन्ने खुलाएनन् । उनले बहुक्षीयतालाई अस्वीकार गर्ने, राष्ट्रिय स्वार्थलाई मात्रै हेरेर न्याय र अन्तर्राष्ट्रिय प्रतिबद्धता नमान्ने प्रवृत्ति राम्रो नहुने बताए ।

‘आफ्नो राष्ट्रिय हित मात्रै हेर्ने, शक्ति नै सत्य हो भन्ने कुरा स्वीकार्य हुँदैन । आजको विश्व र विश्व व्यवस्थाअनुसार न्याय र सत्यलाई आत्मसात् गर्नुपर्छ,’ ओलीले भने । प्रधानमन्त्रीले ठूला देशको व्यापार प्रतिस्पर्धा स्वस्थ होस्, बलियाको प्रतिस्पर्धाले दुब्ला मर्कामा नपरून् भन्ने नेपालको चासो रहेको पनि उल्लेख गरे । 

प्रधानमन्त्री ओलीले आफ्नो कार्यकालको सुरुमै छिमेक सम्बन्ध सुमधुर भएको जिकिर गरे । ‘छिमेक सम्बन्ध सङ्लिएका छन् । अझै विषयका पुनरावलोकन गरिरहेका छौँ, गर्दै छौँ,’ प्रधानमन्त्रीले भने, ‘भारतसँग इपिजीले महत्वपूर्ण काम पूरा गरेर रिपोर्ट बुझाउने अवस्थामा छ । प्रतिवेदन बुझाउने परिस्थिति छिट्टै बन्नेछ भन्ने विश्वास छ । त्यसपछि कार्यान्वयनमा जानेछ ।’ प्रधानमन्त्रीले अन्तर्राष्ट्रिय सम्बन्ध तथा छिमेक सम्बन्धमा सन्तुलित सम्बन्ध चाहेको पनि बताए ।

अर्को प्रसंगमा प्रधानमन्त्री ओलीले छिमेकमा तनाव नहोस् र संवादबाट समस्याको समाधान होस् भन्ने नेपालले चाहेको बताए । उनले नेपाल अब धेरै समय गरिब हुन नसक्ने भन्दै गरिबीविरुद्ध तीव्र प्रहार सुरु भएको पनि दाबी गरे । नयाँ पत्रिका दैनिकमा समाचार छ । 
 

प्रतिक्रिया दिनुहोस