aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

आज राष्ट्रिय धान दिवस, यो दिवस मनाउने विश्वमा नेपाल एक्लो देश

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १५ असार २०७६
आज राष्ट्रिय धान दिवस, यो दिवस मनाउने विश्वमा नेपाल एक्लो देश

काठमाडौं । आज असार १५ । अर्थात राष्ट्रिय धान दिवस । रोपाइँ जात्रा, हिलो खेल्ने, दही चिउरा खाने जस्ता नामले १५ असार प्रख्यात छ । २०६१ मा विश्वका ४३ राष्ट्रले संयुक्त राष्ट्रसंघलाई अन्तर्राष्ट्रिय धान वर्ष घोषणा गर्न अनुरोध गरेका थिए । राष्ट्रसंघले धान वर्ष घोषणा गरेपछि नेपालले पनि राष्ट्रिय धान दिवस मनाउने निर्णय गरेको थियो ।

२९ मंसिर २०६१ मा मन्त्रिस्तरीय निर्णय गरी १५ असार २०६२ देखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । यो दिवसलाई राष्ट्रिय रूपमा मनाउने राष्ट्रसंघका सदस्य राष्ट्रमध्ये नेपाल एउटै रहेको धान विज्ञ भोलामानसिंह बस्नेतले जानकारी दिए ।

विश्वको जनसंख्याको आधा मानिसको मुख्य खाना नै चामल हो । ९० प्रतिशत धान एसियामै उत्पादन हुने गर्छ । उत्पादनको आधा एसियामै खपत हुने गरेको छ । नेपालमा धानको उत्पादन वृद्धि हुँदा आर्थिक वृद्धिदर बढ्ने गरेको धान विज्ञ बस्नेतको भनाइ छ ।

नेपालमा अधिकांशको पेसा खेतीपाती हो । किसान वर्षभरका लागि छाक जुटाउन यो महिना खेतीमा व्यस्त हुन्छन् । आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै धान छुपुछुपु रोपिन्छ । ‘छुपु र छुपु हिलोमा धान रोपेर छोडौंला, बनाई कुलो लगाई पानी आएर गोडौंला’ जस्ता गीत गाएर खेतमै रमाइलो पनि गरिन्छ ।

मध्य गर्मीको यो समयमा युवा लाठे र युवती रोपारले खेतका गराको हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्छन् । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही चिउरा खान्छन् । यस बेला दही चिउराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । खेतीपातीबाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दही चिउरा खाई असार १५ मनाउँछन् ।

प्रतिक्रिया दिनुहोस