
काठमाडौँ ।अख्तियार दुरूपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातलाई धरौटीमा रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईको इजलासले बस्न्यातलाई ५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
’निवेदक प्रतिवादी दीप बस्न्यातलाई मुद्दामा पूर्पक्षका लागि थुनामा राख्नु मानवीय दृष्टिले अनुचित हुनुका साथै तत्काल प्राप्त प्रमाणका रोहमा बेमनासिव र अनुपयुक्त देखिएको हुँदा निजलाई थुनामा राख्ने गरी भएको विशेष अदालतको मिति २०७७÷८÷२८ को आदेश निज दीप बस्न्यातको हकमासम्म बेरीतको देखिँदा बदर गरिएको छ,’ सर्वोच्चको आदेशमा भनिएको छ, ’पछि प्रमाण बुझ्दा जाँदा ठहरेबमोजिम हुनेगरी निज प्रतिवादी दीप बस्न्यातबाट रु. ५ लाख नगद धरौट राखे वा सो बराबर जमानत दिए लिई निजलाई तारिखमा राखी मुद्दामा पूर्पक्ष गर्नुहोला ।’
ललिता निवास जग्गा प्रकरणमा विशेष अदालत काठमाडौंले बस्न्यातलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश गरेको थियो । कारागारमा रहँदा कोरोना संक्रमण भएपछि उनको तर्फबाट अधिकारीले वन्दी प्रत्यक्षीकरणको रिट हालेका हुन् । आफु मुटुको रोगीसमेत भएकाले धरौटीमा रिहा भइ मुद्दा लड्न पाउनुपर्ने बस्न्यातको माग थियो ।
सचिव रहेका बेला तत्कालीन समयमा बालुवाटारको जग्गा व्यक्तिको नाममा लैजाने काममा संलग्न भएको आरोप बस्न्यातमाथि छ ।बस्न्यात विशेष अदालतको आदेशबमोजिम थुनामा थिए ।
प्रतिक्रिया दिनुहोस