
काठमाडौं । मानव स्वास्थ्य जस्तो गम्भीर विषयमा समेत खेलवाड गरी पैसा कमाउने गिरोह सक्रिय भएपछि सरकारी स्वास्थ्य क्षेत्रमा विकृति फैलिएको छ । सरकारी अस्पतालहरुमा आवश्यक पर्ने उपकरणहरुमा मेडिकल सप्लायर्सहरुले कमसल र बोलपत्रमा उल्लेख भएका भन्दा फरक उपकरण सप्लाई गर्ने गरेको तथ्य फेला परेको छ ।
चालू आर्थिक वर्षमा सरकारले बाल मृत्युदर कम गर्नका लागि ७७ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो । उक्त रकम चालू आव सकिन एक महिना बाँकी हुँदा समेत खर्च हुन नसकेपछि स्वास्थ्य मन्त्रालयले पीडब्लूडी डप्लर (पल्स वेव डप्लर) उपकरण गर्भवती आमा र गर्भावस्थाको शिशुबीचको रक्तसञ्चार अवस्थाको जाँच गर्ने उपकरण खरिद गर्ने निर्णय गर्यो । पहिलो चरणमा डोटी अस्पतालले गत वैशाख २३ गते ८८ वटा उपकरण खरिद गर्नका लागि टेन्डर आह्वान गर्यो ।
उक्त टेन्डरमा लाइफ लाइन ट्रेडर्स, हस्पिटेक इन्टरप्राइजेज, कि कन्सर्न, लुम्बि हेल्थ केयर कम्पनीले भाग लिएका थिए । डोटी अस्पताल र केही सप्लायर्सका मिलेमतोमा उक्त पीडब्लूडी डप्लर (पल्स वेव डप्लर)लाई सामान्य अल्ट्रासाउन्ड मेसिनको टेन्डर जस्तो बनाइ भाग लिन लगाइयो ।
उक्त टेन्डरमा भाग लिएकामध्ये हस्पिटेक इन्टरप्राइजेजलाई सामान सप्लाईका लागि असार १३ गते एक दैनिक पत्रिकामा सप्लाई अनुमतिको आशयको पत्र प्रकाशन गरेको छ । उक्त आशय पत्रमा उल्लेख गरिएको सामान्य अल्ट्रासाउन्डको स्पेसिफिकेसन मात्र उल्लेख गरिएको छ । यसमा ११ करोड ४५ लाख १८ हजार ९७६ रुपैयाँ रकम उल्लेख गरिएको छ ।
आशयपत्र पाएको कम्पनीले पेस गरेको पीडब्लूडी डप्लर (पल्स वेव डप्लर) फिचर नै नरहेको कम्पनी फिलिप्सको लिम्फाई उत्पादनको क्याटलग राखेर पठाएको छ । स्राेतले भन्याे - 'एउटा सामान भनेर अर्काे ल्याउनु आलु भनेर पिँडालु किनेजस्तै हाे ।'
उक्त प्रविधिमा पीडब्लूडी डप्लर (पल्स वेव डप्लर) नै नरहेकाले ग्रामीण भेगमा हुने मातृशिशु मृत्युदरलाई कम गर्न सहयोग नपुग्ने वरिष्ठ रेडियोलोजिस्ट डा.कुष्णप्रसाद अधिकारी बताउँछन् । उनले भने– ‘यो सरकारी निकायको कुरा भयो म सरकारी निकायमा भएको भए सजिलै भन्न सक्थे । यहाँ कोसँग कसको कनेक्सन हुन्छ र कसका लागि फाइदा हुने काम गरिन्छ त्यो म बुझ्दिन । अब सरकारले नै जुन उपकरण ल्याउने भनेर टेन्डर गरेको त्यो उपकरण नै नल्याइकन कसरी काम गर्छ, त्यो नै हेर्नुपर्छ । अहिले त सामान अस्पतालमा पुर्याएको छैन ।’
यता राजपुर डोटी अस्पतालका निर्देशक गुणराज वस्तीले भने–‘सबै प्रक्रिया र टेनडरमा उल्लेख भएका सबै विशेषता पूरा गर्छ भन्ने र हाम्रो सार्वजनिक खरिद ऐनले तोके बमोजिमको प्रक्रिया पुगेकालाई टेन्डर परेको छ ।’
सामान सप्लाइका लागि आशयपत्र दिएकाले सामान अस्पतालसम्म आइ नसकि र अस्पतालको प्राविधिकले जाँच नगरी सामानमा पीडब्लूडी डप्लर (पल्स वेव डप्लर) छ वा छैन भन्न नसकिने उनले बताए ।
सोही अस्पतालका प्रवक्ता तिर्थराज भट्टले भने–‘यदि टेन्डर प्रक्रियाबाट छनोट भएको कम्पनीले पनि पीडब्लूडी डप्लर (पल्स वेव डप्लर)का सामान ल्याउने ग्यारेन्टी नगरेसम्म हामी सामान नै बुझ्दैनौ । किनकी टेन्डरमा स्पष्ट रुपमा पीडब्लूडी डप्लर (पल्स वेव डप्लर) उल्लेख भएकाले यो प्रविधि बाहेकको सामान ल्याइएमा यो प्रक्रिया नै हामी रद्द गछौं ।’
डोटी अस्पतालमा उपकरण आपूर्ति गर्ने विषयमा अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमासमेत उजुरी परेको छ ।
प्रतिक्रिया दिनुहोस