aarthiknews.com शनिबार, ०७ असार २०८२   Saturday, 21 June, 2025
 

सुनसरीमा पनि युवा नै बढी सङ्क्रमित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०२ जेठ २०७८
सुनसरीमा पनि युवा नै बढी सङ्क्रमित

काठमाडौँ।  दोस्रो चरणको कोरोना भाइरस सङ्क्रमण बढेसँगै यसको प्रभाव सबैभन्दा बढी युवा वर्गमा परेको पाइएको छ ।सङ्क्रमितमध्ये २१ देखि ३० वर्ष उमेर समूहका युवाको सङ्ख्या बढी रहेको स्वास्थ्य कार्यालय सुनसरीले जनाएको छ ।

अहिलेसम्मको सङ्क्रमित सङ्ख्याको २८ दशमलव नौ प्रतिशत सङ्क्रमण यस उमेर समूहमा देखिएको स्वास्थ्य कार्यालय सुनसरीले जनाएको छ । त्यसै गरी ३१ देखि ४० वर्ष उमेर समूहका २३ दशमलव छ प्रतिशत सङ्क्रमित रहेका छन् । सङ्क्रमित हुनेमा ४१ देखि ५० वर्ष उमेर समूहका १६ दशमलव एक प्रतिशत रहेको स्वास्थ्य कार्यालय इनरुवा सुनसरीका प्रमुख सागर प्रसाईँले बताए ।

एकाउन्नदेखि ६० वर्षसम्मका व्यक्ति १२ दशमलव दुई प्रतिशत सङ्क्रमित रहेको उहाँले जानकारी दिनुभयो । त्यसै गरी ६१ देखि७० वर्षका ज्येष्ठ नागरिक छ दशमलव चार प्रतिशतमा कोरोना पोजेटिभ भएको पाइएको छ । त्यसै गरी ज्येष्ठ नागरिकतर्फकै ७१ देखि ८० वर्षको उमेर समूह तीन दशमलव एक प्रतिशत सङ्क्रमित रहँदा ८१ देखि ९० वर्ष उमेर समूह एक प्रतिशत र सोभन्दा माथिका उमेर समूह शून्य दशमलव एक प्रतिशत सङ्क्रमित पाइएको स्वास्थ्य कार्यालय सुनसरीका प्रमुख प्रसाईँले बताए ।

त्यसै गरी कोरोना सङ्क्रमित १० वर्षमुनिका बालबालिकाको सङ्ख्या तीन प्रतिशत रहेको उहाँले बताए । एघार देखि २० वर्ष उमेर समूहका पाँच दशमलव छ प्रतिशत सङ्क्रमित पाइएको छ । अहिलेसम्म जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजारभन्दा बढी रहेको छ भने मृतकको सङ्ख्या ४० पुगेको छ । 

जिल्लामा सङ्क्रमणको दर दैनिक रूपमा बढ्दै गएका कारणले यसबाट बच्नका लागि नेपाल सरकारले जारी गरेको स्वास्थ्यको मापदण्ड पूर्ण रूपमा पालना गर्नका लागि सबै जिल्लावासीमा स्वास्थ्य कार्यालय सुनसरीले आग्रहसमेत गरेको छ । (रासस)

प्रतिक्रिया दिनुहोस