aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

नेपाल कूटनीतिमा फेरि असफल, चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण अनिश्चित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १६ असार २०७६
नेपाल कूटनीतिमा फेरि असफल, चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण अनिश्चित

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले गत वैशाखमा गरेको चीन भ्रमणका क्रममा प्रायः सुनिश्चित भएको चिनियाँ राष्ट्रपति सी जिनपिनको नेपाल भ्रमण फेरि अनिश्चित बन्न पुगेको छ । नेपालका तर्फबाट भएका कूटनीतिक कमजोरीका कारण चिनियाँ पक्ष असन्तुष्ट बनेको परराष्ट्र मन्त्रालय स्रोतको भनाइ छ । 

पछिल्लो समय समाजवादी पार्टीका सांसद प्रदीपकुमार यादवले लाटभियाको रिगामा आयोजित इन्टरनेशनल नेटवर्क अफ पार्लियामेन्टरियन अन फ्रि तिब्बतको कार्यक्रममा सहभागिता जनाएको विषयले चिनियाँ पक्षलाई थप असन्तुष्ट बनाएको हो । 

पार्टीले असार १० गते एक विज्ञप्ती जारी गरी यादवबाट लाटरियासम्बन्धी विषयमा प्राप्त स्पष्टीकरण चित्तबुझ्दो नभएकोले उनलाई ६ महिनाका लागि निलम्बन गरिएको जनाएको छ ।

चीनसँगको सम्झौतासम्बन्धी विषयमा नेपाल पक्षबाट तदारुकता नदेखाएकाले पहिलेदेखि नै असन्तुष्ट रही आएकोमा लाटभिया प्रकरणले चीनलाई थप आक्रोशित तुल्याएको स्रोतको दाबी छ । नाकाबन्दीका बेला जुन जुन विषयमा जस्तो तदारुकता थियो, त्यस अनुरुपको तदारुकतामा कमी देखिएको छ । 

परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले चीनको डालियानमा १ जुलाई देखि ३ जुलाईसम्म आयोजना हुने १३ औं विश्व आर्थिक मञ्चको वार्षिक सम्मेलनमा सहभागिता जनाइरहेका बेला चिनियाँ अधिकारीहरुसँग यस विषयमा छलफल गर्न भ्याएमात्र यसअघि अपेक्षा गरिएअनुसार चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमण हुन सक्ने देखिएको स्रोतको दाबी छ । अन्यथा यसका लागि फेरि पहल गर्नुपर्ने देखिएको छ । कारोबार दैनिकमा समाचार छ । 

प्रतिक्रिया दिनुहोस