aarthiknews.com शुक्रबार, ०६ असार २०८२   Friday, 20 June, 2025
 

नेपालको वर्तमान आर्थिक तथा मौद्रिक परिदृश्य

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०५ जेठ २०७८
नेपालको वर्तमान आर्थिक तथा मौद्रिक परिदृश्य

काठमाडौँ। नेपाल राष्ट्र बैंकले नेपालको वर्तमान आर्थिक तथा मौद्रिक परिदृश्य हेर्दा आर्थिक वृद्धिको लक्ष चुनौतीपूर्ण बनेको बताएको छ। मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा मार्फत आर्थिक परिदृश्य सङ्कटपूर्ण रहेको राष्ट्र बैंकले जनाएको हो। 

समीक्षा प्रतिवेदनमा लेखिएको छ- आर्थिक वर्ष २०७७/७८ को नौ महिनासम्म अर्थतन्त्र सुधारोन्मुख दिशामा अघि बढेको भए तापनि कोभिड–१९ को दोस्रो लहरको सङ्क्रमण नियन्त्रण गर्न धेरै स्थानहरूमा अवलम्बन गर्नुपरेको निषेधाज्ञाका कारण अनुमानित ४ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्न समेत चुनौतीपूर्ण हुने देखिन्छ ।

चालु आर्थिक वर्षको चैतसम्म विप्रेषण आप्रवास सन्तोषजनक रहे तापनि विश्वव्यापी रूपमा कोभिड–१९ को नयाँ स्वरूपमा दोस्रो लहर फैलिएको र विगत एक वर्षभन्दा बढी समयसम्म वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्या बढ्न नसकेकोले विप्रेषण आप्रवाहको वृद्धि कायम रहनु चुनौतीपूर्ण छ । पछिल्ला महिनाहरूमा आयातको विस्तार हुन थालेकोले शोधनान्तर बचतको मात्रा घट्दै गएको छ । तर, पुनः बन्दाबन्दीको स्थिति सिर्जना भएकोले स्वास्थ्यजन्य वस्तु बाहेकको आयात प्रभावित हुने देखिन्छ । 

फलस्वरूप, शोधनान्तर बचत केही कमी हुँदै जान सक्ने सम्भावना रहे पनि चालु आर्थिक वर्षको अन्त्यसम्म विदेशी विनिमय सञ्चिति लक्षित तहभन्दा माथि नै रहने अनुमान रहेको छ ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म मुद्रास्फीति दर नियन्त्रित अवस्थामा रहे तापनि पछिल्लो समयमा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य वृद्धि हुन थालेको, भारतको मूल्य वृद्धि नेपालको भन्दा केही उच्च रहेको र नेपाली रुपैयाँ अवमूल्यन हुँदै गएको कारण आगामी दिनमा मुद्रास्फीतिमा केही चाप पर्ने स्थिति छ । 

तापनि, आन्तरिक माग शिथिल रहेको र आपूर्ति व्यवस्थापन सहज नै रहेकोले चालु आर्थिक वर्षमा मुद्रास्फीति लक्षित सीमा भित्र रहने देखिन्छ ।

कोभिड–१९ को पहिलो लहरको प्रभावलाई नियमनकारी नीतिगत सहजताले गर्दा बैकिङ्ग क्षेत्रले व्यवस्थापन गर्न सकेको थियो । तर, कोभिड–१९ को दोस्रो लहरको कारण अवलम्बन गरिएको बन्दाबन्दीले आर्थिक गतिविधिहरू पुनः प्रभावित भई बैकिङ्ग क्षेत्र पनि प्रभावित हुने सम्भावना रहेको छ । पछिल्ला महिनाहरूमा बैकिङ्ग क्षेत्रबाट निजी क्षेत्रमा जाने कर्जा उत्साहजनक ढङ्गले बढेकोमा पुनः शिथिलतातर्फ जाने देखिन्छ । तापनि, चालु आर्थिक वर्षको बाँकी अवधिमा मौद्रिक नीतिको शुरुकोलक्ष्य भन्दा बढी नै कर्जा विस्तार हुने देखिन्छ ।

कोभिड–१९ को पहिलो लहर सुरु भएदेखि कर्जाको माग घटेको तर लचिलो मौद्रिक नीतिका कारण तरलता प्रवाह बढेको हुनाले निक्षेप तथा कर्जाको ब्याजदरहरू घट्दै गएका छन् ।

कर्जाको ब्याजदरमा आएको कमीले गर्दा पछिल्ला महिनाहरूमा कर्जाको माग बढाउन सहयोग पुगेको छ । कर्जा माग उल्लेख्य ढङ्गले बढ्दा २०७७ चैत महिनापछि बैकिङ्ग क्षेत्रको तरलतामा कमी आइ अल्पकालीन ब्याजदरहरू केही बढ्न गएका छन्। यसले गर्दा आगामी दिनमा कर्जा तथा निक्षेपको ब्याजदर बढ्ने सङ्केत देखिए तापनि हालै गरिएको बन्दाबन्दीले नयाँ कर्जाको मागमा कमी आइ बैकिङ्ग क्षेत्रको तरलता र ब्याजदरहरू सामान्य रहने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस