
एजेन्सी। उत्तर प्रदेशको कोरोनाबाट अहिलेसम्म तीन जना मन्त्रीको मृत्यु भइसकेको छ। मङ्गलवार बाढी नियन्त्रण र राजस्व राज्य मन्त्री विजय कश्यपको गुड़गांवको मेदन्त अस्पतालमा मृत्यु भएसँगै कोरोनाको कारण मृत्यु हुने उत्तर प्रदेशका मन्त्रीको सङ्ख्या तीन पुगेको हो।। उनी ५६ वर्षका थिए ।
मुजफ्फरनगरको मुर्थावल विधान सभा क्षेत्रका विधायक विजय कश्यप गत हप्ता मात्र सङ्क्रमित भएका थिए। उनी आरएसएसको निकट मानिन्थे। सन् २०१९को अगस्टमा मुख्यमन्त्री योगी आदित्यनाथले आफ्नो मन्त्रिपरिषद् विस्तार गर्दा विजय कश्यपलाई त्यसमा समावेश गरेका थिए।
यसभन्दा पहिले दुई जना मन्त्री चेतन चौहान र कमल रानी वरुणको कोरोनाको पहिलो लहरमा नै मृत्यु भएको थियो। योगी आदित्यनाथले विजय कश्यपको निधनमा शोक व्यक्त गरेका छन्।
मुख्यमन्त्रीले आफ्नो ट्विटमा भनेका छन्, "उत्तर प्रदेश सरकारमा मेरो सहयोगी र राजस्व तथा बाढी नियन्त्रण राज्यमन्त्री विजय कश्यप जीको मृत्यु अत्यन्त दुखद छ।"
प्रधानमन्त्री नरेन्द्र मोदीले पनि विजय कश्यपको मृत्युको बारेमा ट्विट गरेर शोक व्यक्त गरेका छन्। मोदीले आफ्नो ट्विटमा भनेका छन्, "उत्तर प्रदेश सरकारमा भाजपा नेता र मन्त्री विजय कश्यप जीको मृत्यु अत्यन्त दुखद छ। उहाँ भूमिसँग सम्बन्ध जोडिएको नेता हुनुहुन्थ्यो र जहिले पनि जनहितको काममा समर्पित हुनुहुन्थ्यो। शोकको यस घडीमा उनको परिवार र प्रशंसकप्रति मेरो संवेदना। ओम शान्ति! ''
विजय कश्यप भाजपाका पाँचौँ विधायक हुन्, जसको कोरोना भाइरसको दोस्रो लहरमा मृत्यु भएको छ । यसभन्दा अघि सलोनका विधायक दल बहादुर कोरी, नवाबगंजका केसर सिंह गंगवार, औरैयाका विधायक रमेश दिवाकर र पश्चिम लखनउका सुरेशकुमार श्रीवास्तवको कोरोनाबाट मृत्यु भइसकेको छ ।
प्रतिक्रिया दिनुहोस