
एजेन्सी। दक्षिणी चीनको शेन्जेन सहरमा रहेको ७३ तल्ले भवनमा कम्पन महसुस भएपछि यसलाई तुरुन्त खाली गरिएको छ। स्थानीय प्रशासनका अनुसार यो घटना मङ्गलवार साँझ भएको हो। यो ९८० फिट अग्लो एसईजी प्लाजामा रहेका मानिसहरू अकस्मात् भवन हल्लिन थालेपछि भागेका थिए।
आश्चर्य त यो छ कि त्यो बेला चीनमा कुनै भूकम्प रेकर्ड गरिएको छैन। यो भवन के कारणले गर्दा यसरी हल्लियो भन्ने अनुसन्धान भइरहेको ग्लोबल टाइम्सले जनाएको छ ।
बिस वर्ष पुरानो यो भवनमा धेरै कार्यालयहरू छन्। यसमा ठुलो इलेकट्रोनिक्स बजार पनि छ। यो भवन शेन्जेन सहरको बिचमा अवस्थित छ। करिब सवा करोड जनसङ्ख्या भएको यस सहरमा यो भवन ठुलो किनमेल केन्द्रको रूपमा चिनिन्छ।
यस घटनाका धेरै भिडियोहरू सोसल मिडियामा अहिले छन् जसमा धेरै व्यक्तिहरू यस भवनबाट बाहिर भाग्न भागिरहेको देख्न सकिन्छ। सयौँ व्यक्तिहरूले यसबारे सामाजिक सञ्जालमा चिन्ता व्यक्त गरेका छन् कि भूकम्प विना नै यस्तो हुनुको मुख्य कारण के हो।
हाल यो भवन पूर्ण रूपमा खाली गरिएको थियो। शेन्जेनको स्थानीय अधिकारीले जारी गरेको विज्ञप्तिमा भनिएको छ "भवनको वरिपरिको मैदानमा हामीले कुनै दरार भेट्टाएका छैनौँ। यस बाहेक भवनको बाहिरी भित्तामा कुनै क्षति भएको छैन। तर, यसरी भवन हल्लिनु चिन्ताजनक छ। हामी यस घटनालाई विस्तृत रूपमा अनुसन्धान गरिरहेका छौँ। "
एसईजी प्लाजा वर्ष सन् २००० मा निर्माण गरिएको थियो। यो चीनको १०४ औँ अग्लो भवन हो। त्यसै गरी विश्वको २१२ औँ अग्लो भवन हो।
प्रतिक्रिया दिनुहोस