
काठमाडौं । कोरोना संक्रमितलाई फेरी अर्को चिन्ता थपिएको छ। भारतको राजधानी दिल्लीमा समेत म्यूकोरमाइकोसिस अर्थात् ब्ल्याक फंगस नामक रोगका कारण एक कोरोना संक्रमितको मृत्यु भएको छ।
यसअघी भारतका बिभिन्न शहरमा कोरोना संक्रमितमा म्यूकोरमाइकोसिस अर्थात् ब्ल्याक फंगस देखा परेको थियो। महाराष्ट्रमा १५ सय जनामा देखिएको यो ढुसीको संक्रमणबाट केहि दर्जनले आँखाको ज्योति नै गुमाएका थिए। उता अन्य राज्यहरुमा समेत फैलिएको यो रोगका कारण कोरोना संक्रमित धेरै बिरामीले ज्यान गुमाएका छन्। भारतमा अहिले यो रोगको उपचारमा प्रयोग हुने औषधी लिप्सोमोल एंफोटेरिसिन बी नामक इंजेक्शनको अभाव देखिन थालेको छ।
हालसम्म नेपालमा कोरोना सङ्क्रमितमा म्यूकोरमाइकोसिस अर्थात् ब्ल्याक फंगसको समेत आक्रमण देखिएको कुनै समाचार आएको छैन। तर, भारतबाट कतै कोरोना संक्रमित संगै यो रोगपनि यता महामारीको रुपमा नै फैलने त होइन भन्ने चिन्ता बढेको छ।
के हो म्यूकोरमाइकोसिस अर्थात् ब्ल्याक फंगस ?
भारतको स्वास्थ्य मन्त्रालयद्वारा जारी रिपोर्टमा भनिएको छ - यो एक फंगल संक्रमण हो जसले स्वास्थ्य समस्या भएका मानिसहरूको वातावरणीय जीवाणुहरूसँग लड्न सक्ने क्षमता कम गर्दछ। जो व्यक्ति अन्य गम्भीर रोगबाट ग्रसित छन् वा अनियन्त्रित मधुमेह, स्टेरोइडको अधिक प्रयोगबाट प्रतिरोध क्षमता कमभएका छन् भने उनीहरुमा यसको संक्रमण हुनसक्छ। आईसीयूमा लामो समयसम्म रहेका बिरामीहरूपनि यो फंगल संक्रमणको लागि अति संवेदनशील हुन्छन्।
ब्ल्याक फंगस नामको यो रोग छाला, फोक्सो र दिमागमा फैलिन्छ। डाक्टरहरुका अनुसार जो मानिसमा रोग प्रतिरोधी क्षमता राम्रो हुन्छ उनीहरुलाई यो रोग लाग्दैन।
म्यूकोमाइकोसिसका लक्षणहरू
म्यूकोरामाइकोसिस भएका मानिसहरुको आँखा वा नाकमा रातो दाग वा पीडा हुन सक्छ। यस बाहेक, ज्वरो आउने, टाउको दुख्ने, खोकी लाग्ने, सास फेर्न गाह्रो हुने, रगत बान्ता हुने र मानसिक सन्तुलनमा परिवर्तन आउने जस्ता लक्षणहरू देखिन सक्छन्।
कसरी बच्ने ?
भारतको स्वास्थ्य सार्वजनिक गरेको जानकारी अनुसार हाइपरग्लाइसिया नियन्त्रणमा राख्नु पर्छ। यदि मधुमेह भएका व्यक्तिहरू कोभिड संक्रमित छन् भने डिस्चार्ज पछि रगतमा ग्लूकोजको नियन्त्रणमा राख्नु पर्छ। स्टेरोइडहरू सावधानीका साथ प्रयोग गर्नुपर्दछ। अक्सिजन थेरापीको क्रममा सफा पानी प्रयोग गर्नुपर्छ। एन्टिबायोटिक र एन्टी-फंगल औषधी प्रयोग गर्दा सचेत रहनु पर्छ।
यदी कुनै व्यक्तिमा यस्तो लक्षण देखियो भने त्यसलाई वेवास्ता गर्नु हुँदैन। विशेष गरी कोरोना बिरामीहरूमा यस्तो लक्षण देखिएमा बिल्कुलै लापरवाही गर्नु हुँदैन । र, यसको उपचारमा ढिलाइ नगर्नुहोस्।
प्रतिक्रिया दिनुहोस