
काठमाडौं । प्रमुख प्रतिपक्षी कांग्रेसले सत्यनिरूपण तथा मेलमिलाप आयोगको अध्यक्ष आफूले सिफारिस गरेका व्यक्तिलाई दिलाउन लबिङ तीव्र पारेको छ। सत्तारुढ दलकै अध्यक्ष पुष्पकमल दाहाललाई सहमतिमा ल्याई प्रधानमन्त्रीमाथि दबाब दिने रणनीतिमा कांग्रेस छ।
त्यसका लागि पार्टी सभापति शेरबहादुर देउवाले दाहाललाई मनाउन नेता कृष्ण सिटौला परिचालन गरेका छन्। सिटौलाले आइतबार खुमलटार पुगी अध्यक्ष दाहालसँग झन्डै एक घन्टा आयोग गठनबारे छलफल गरे। यसको पुष्टि नेता सिटौलाले पनि गरे। उनले आइतबार आफ्नै निवासमा पत्रकारसँग पार्टी सभापतिकै आग्रहमा दाहालसँग सम्वाद बढाइरहेको बताए।
‘प्रचण्डजी र हाम्रो सभापति देउवाजीबीच आयोग गठनबारे पटक–पटक छलफल भइरहेको छ। त्यसमा म पनि सहमतिको प्रयासका लागि लागिरहेको छु,’ सिटौलाले सम्वाददाताहरुसँग भने,–‘सत्यनिरूपणको विषय कांग्रेस र तत्कालीन माओवादी नेतृत्वका लागि गम्भीर विषय भएकाले यसको नेतृत्व त्यसैगरी टुंगो लगाउनु पर्छ।’
गत साता पनि सिटौलाले दाहालसँग भेटेका थिए। त्यसयता उनको नेकपा अध्यक्ष दाहालसँग निरन्तर छलफल भइरहेको छ। सिटौलाकै प्रयासमा गत बिहीबार कुपन्डोलस्थित समिट होटलमा पनि देउवा–दाहाल एक चरण छलफल भएको थियो। कांग्रेसले आयोग अध्यक्षका लागि डा.सूर्य ढुंगेललाई अघि सारेको छ। प्रधानमन्त्री केपी ओलीले भने गोविन्द बन्दी (कोइराला)लाई अघि सारेका छन्। आयोग नेतृत्वमा आफूअनुकूल मान्छे ल्याएर प्रधानमन्त्रीले आफूहरूलाई अप्ठ्यारोमा पार्न सक्ने बुझाइ कांग्रेसको छ। आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।
प्रतिक्रिया दिनुहोस